सोमबार, भदौ २९, २०८३

नेकपा विवाद : धमाधम गोप्य भेला गर्दै ओली समूह

शनिबार सत्तारुढ दल नेकपाका बहुमत सचिवालय सदस्यहरुले सचिवालय बैठक बोलाउन भन्दै प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र नै बुझाए। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं- शनिबार सत्तारुढ दल नेकपाका बहुमत सचिवालय सदस्यहरुले सचिवालय बैठक बोलाउन भन्दै प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र नै बुझाए। 

शुक्रबार र शनिबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेपछि बालुवाटार पुगेर बहुमत सदस्यहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। तर, ओलीले सचिवालय बैठक बोलाउने विषयमा कुनै सहमति दिएनन्।

शनिबार पत्र बुझाउन गएका नेताहरु र ओलीबीच छलफल भयो। छलफलमा ओलीले आफूविरुद्ध गुटका बैठक, भेला आयोजना गरिदै आएको भन्दै आपत्ति जनाए।

ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले गुटबन्दी गरेको आरोप लगाइरहे पनि उनी निकटका नेताहरुले पनि गुटगत भेला गर्न छाडेका छैनन्।

केहीदिन अघि ओली र दाहालबीच भएको संवादमा पनि दाहालले आफूलाई गुटबन्दी गरेको आरोप लगाउनुहुन्छ, तर, तपाईले नै प्रदेश १ मा गोप्य भेला गर्नुभयो भन्दै ओलीसामु प्रश्न गरेका थिए।

शनिबार बालुवाटारमा दाहालसहित बहुमत सदस्यले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइरहेका बेला उपप्रधानमन्त्री ईश्वर पोखरेल भने बसुन्धरामा छुट्टै जिल्ला भेलामा कार्यकर्तालाई प्रशिक्षण दिनमा व्यस्त थिए। 

पार्टीभित्र देखिएको विवाद समाधान नभइरहेका बेला ओली समूहले विभिन्न भेला गरिरहेको छ। मदन भण्डारी फाउन्डेसनको ब्यानरमा शनिबार ओली निकटका नेताहरुको भेला भएका थिए।

नेकपा केन्द्रीय सदस्यसमेत रहेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले अनौपचारिक छलफल भएको बताए। ‘मैले जिल्ला अध्यक्षको हिसाबले मेरो नजिक रहेका साथीभाइलाई यसो जानकारी दिने र भेटघाट गर्नका लागि सानो भेला गरिएको हो,’ उनले भने, ‘यो कुनै औपचारिक कार्यक्रम होइन।’

तर, सहभागी केही नेताका अनुसार भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले अहिले स्थगित गरेको राजनीतिक कार्यदिशा जबजको पक्षमा वातावरण बनाउन निर्देशन दिएका थिए।

‘उपप्रधानमन्त्री आउनुभयो। पार्टीका गतिविधि पनि अगाडि बढाउनुस् भन्नुभयो,’ राईले भने, ‘पार्टीका माथिका नेताहरु झगडा गर्न धेरै बेर नलागे जस्तै मिल्न धेरैबेर लाग्दैन। तल झगडा गरेपछि मिल्न समय लाग्छ। त्यही भएर आफ्ना गतिविधि, हिसाबले अगाडि बढाउनुस्।’ उनका अनुसार उपप्रधानमन्त्री पोखरेलले २६ भदौमा सम्पन्न भएको स्थायी कमिटिको बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशन ५ बमोजिम लाग्न निर्देशन गरेका थिए। 

‘छलफलमा हामी सबैको कुरा के रह्यो भने पार्टी फुट्न दिनुहुँदैन। यसका लागि एकीकरणका बाँकी काम पुरा गर्ने काममा लाग्ने तर नेताहरुले फुट्ने वातावरण बनाउन नदिनका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने भन्ने मात्रै हो कुरा भएको,’ उनले भने।  

नेताहरुको बीचमा भएको बेमेलका कारणले तल कार्यकर्ताहरु उत्साहित भएर लाग्न सक्ने अवस्था नरहेको उनले बताए। ‘लाग्न खोजे पनि ब्रेक हुने हो की भन्ने मानिसहरुमा आशंका छ नि त,’ उनले भने, ‘आशंका धेरै भएको कारण सामान्य छलफल भएको हो।

गत बुधबार ओली समूहले प्रदेश १ को भेला राखेको थियो। प्रधानमन्त्री ओलीलेसमेत भेलालाई सम्बोधन गरेका थिए। भेलामा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादका पक्षमा लाग्न निर्देशन नै दिएका थिए। 

२६ भदौमा सम्पन्न भएको स्थायी कमिटी बैठकपछि जारी निर्देशनमा अब देखि पार्टीभित्र कुनै पनि खालका गुटबन्दी र प्रतिष्ठान लगायत संस्थाका नामबाट कार्यक्रम नगर्ने भनेर प्रष्ट भनिएको थियो। तर, नेकपाभित्र पछिल्लो समय पुनः देखिएको विवादले नेताहरुले आ–आफ्ना पक्षका नेताहरुसँग छलफल, भेला लगायतका कार्यक्रमहरु गर्दै आइरहेका छन्।

प्रकाशित: Nov 08, 2020| 08:38 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।