काठमाडौं– कञ्चनपुरमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।
बेदकोट नगरपालिका २ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका ५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीनसहित प्रहरीले पक्राउ गरेको हो।
बेदकोट नगरपालिका ५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७–८ जना व्यक्तिले तास खेलिरहेका व्यक्तिहरूबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटेर फरार भएको घटनाको अनुसन्धानका क्रममा खुलेको बताइएको छ।
पक्राउ परेका तीन जनाको साथबाट प्रहरीले हतियार बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई हतियारसहित फेला पारेको हो।
प्रहरीले घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत बरामद गरेको छ।
तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।