मकवानपुर– मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।
तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना भएका थिए। उनको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन्।
वि.सं ०४९ मा मकवानपुर जिविसका सभापति बनेका लामा ०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। ०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए।
०६२–६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्को सदस्य रहेका लामा ०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए।
लामा जिविस मकवानपुरका सभापति भएपछि उनकै पहलमा काठमाडौंलाई तराईसँग जोड्न मकवानपुरको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो। मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन्।
उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।