काठमाडौं– बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भएसँगै आइतबारदेखि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ। उक्त आँधीका कारण नेपालमा मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
‘गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको छ। यद्यपि, ठूलो प्रभाव भने पर्दैन। मनसुनको अवधि केही लम्बिन सक्छ। हामी अध्ययन गर्दैछौं,’ विभागले भनेको छ।
विभागका अनुसार अझै ३ दिनसम्म मनसुन बदली भई मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस वर्षको मनसुन अक्टोबर २ मा सकिनुपर्नेमा केही दिन लम्बिन सक्ने देखिएको छ।
भारतको मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात आउन सक्ने सम्भावना विचार गरेर उत्तरी आन्ध्र प्रदेश र यसको दक्षिण ओडिसाका तटीय क्षेत्रमा अलर्ट जारी गरिएको छ। त्यहाँको तुफान चेतावनी प्रभागले चक्रवाती तुफान पश्चिमतर्फ अघि बढ्दै आइतबार साँझ उत्तरी आन्ध्र प्रदेशको कलिंगपत्तन र दक्षिणी ओडिसाको गोपालपुर तटको बीचबाट जाने सम्भावना रहेको जनाएको छ।