पोखरा–गण्डकी प्रदेश सरकारको एक करोड ७९ हजार रुपैयाँमा म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष आईसीयू जनशक्तिको अभावमा सञ्चालन हुन सकेको छैन।
चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा आईसीयू सञ्चालन हुन नसकेको हो।
बढ्दो कोरोना संक्रमणलाई लक्षित गरेर ४ महिना अघि दुईवटा भेण्टिलेटरसहित पाँच बेडको आईसीयू कक्ष स्थापना गरिएको थियो।
आईसीयू सञ्चालन नहुँदा संक्रमितलाई बाहिरी जिल्लामा लग्नुपर्ने बाध्यता छ। अस्पतालमा आईसीयू सञ्चालन नहुँदा केही दिन अघि दुई जना कोरोना संक्रमितलाई हेलीकोप्टर मार्फत पोखरा र काठमाडौं पुर्याइएको थियो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत अधिकारीका अनुसार आईसीयू कक्ष नियमित रुपमा सञ्चालन गर्नका लागि एक,एक इन्टरनल मेडिसिन डाक्टर, बेहोस बनाउने डाक्टर (एनएसथेसियोलोजिस्ट), स्टाफ नर्स र चार जना मेडिकल अफिसर आवश्यक हुन्छन्।
अधिकारीका अनुसार जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकार र विभागमा अनुरोध गरिए पनि सुनुवाई भएको छैन।
‘हामीले दक्ष जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचार आईसीयूमा गर्न सक्दैनौं,’ उनले भने,‘ यहाँ पूर्वाधार भए पनि जनशक्तिको अभावमा बिरामी महंगो खर्चमा पोखरा काठमाडौं जानुपरेको छ।’
यता स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको बताए।
उनले आईसीयू स्थापना भएका प्रदेश भित्रका जिल्ला अस्पताललाई आवश्यक पर्ने एक सय ६ दक्ष जनशक्ति भर्नाका लागि सूचना निकाल्ने गृहकार्य सुरु भएको जानकारी दिए।
आकष्मिक रुपमा आईसीयू सञ्चालन गर्नुपरेमा अस्पतालमै भएको जनशक्ति परिचालन गर्नका लागि तालिम दिएर पठाइएको उनको भनाइ छ।
गण्डकी प्रदेशमा कास्की, बागलुङ र गोरखामा रहेका सरकारी, सामुदायिक, मेडिकल कलेज तथा निजी गरेर १५ ओटा अस्पतालमा एक सय ८६ ओटा आईसीयू र ५४ ओटा भेन्टिलेटर छन्।