काठमाडौं- भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत मंगलबार दोस्रो चरणको मतदान हुँदैछ ।
बिहान ७ बजेबाट ९४ सिटका लागि १७ जिल्लामा मतदान भइरहेको बीबीसीले जनाएको छ । ९४ सिटका लागि बिहारमा १ हजार ४ सय ६३ जना उमेदवार छन् । दोस्रो चरणमा दुई करोड ८६ करोडले मतदान गर्ने छन् ।
बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौति दिँदै छन् ।
आजको चुनावबाट बिहारमा विपक्षीका तर्फबाट मुख्यमन्त्रीका उमेदवार तेजस्वी यादव, उनका दाजु तेजप्रताप यादव तथा अन्य कैयौं मुख्य नेताहरुको भाग्यको फैसला हुनेछ ।
२४३ सिट रहेको बिहार विधानसभाको आधाभन्दा बढी सिटमा मंगलबार मतदान सम्पन्न हुनेछ । पहिलो चरणमा ७१ सिटका लागि २८ अक्टुबरमा मतदान भएको थियो ।
२०१५ को विधानसभा चुनावमा ९४ सिटमध्ये ३३ आरजेडी, ३० जेडीयू, २० बीजेपी, सात कंग्रेस, दुईव एलजेपी तथा दुई सिटमा अन्य पार्टी विजयी भएका थिए ।