मंगलबार, चैत १०, २०८२

‘चाडबाडको आवतजावत अरिंगालको गोलामा ढुंगा हानेजस्तै, जाडोमा थप सजगता जरुरी’

कोरोना संक्रमितको संख्या बढिरहँदा सरकारले भने पीसीआर परीक्षणको नीति र उपचारको दायरा झन् साँघुरो बनाएको छ। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– गएको माघमा पहिलोपटक नेपाल प्रवेश गरेको कोरोना भाइरस हिजो बिहीबारसम्ममा १ लाख ६२ हजारभन्दा बढी नेपालीको शरीरमा प्रवेश गरिसकेको छ।

National life

संक्रमितमध्ये ९०४ जनाको मृत्यु भइसकेको छ। अहिले पनि ३०४ जना विभिन्न अस्पतालका आईसीयूमा उपचाररत छन्। भेन्टिलेटरमा ७६ जना छन्। 

विशेषगरी पछिल्ला दुई महिनामा संक्रमितको संख्या बढ्दो क्रममा छन्। दैनिक १० जनाभन्दा बढीको मृत्यु भइरहेको छ। लकडाउन खुलेर मानिसको आवतजावत बढेपछि संक्रमणको फैलावट अझ तीव्र बनेको छ।

कोरोना संक्रमितको संख्या बढिरहँदा सरकारले भने पीसीआर परीक्षणको नीति र उपचारको दायरा झन् साँघुरो बनाएको छ। 

जानकारहरुका अनुसार पछिल्लो समय कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ। परीक्षण गर्ने हो भने प्रत्येक घरमा कोरोना संक्रमित भेटिन सक्ने आंकलन विज्ञहरुले गरेका छन्। 

Laxmi sunrise bank
kumari

नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं सकिएको छैन। विगतका वर्षहरुमा जस्तो ‘मुभमेन्ट’ नभए पनि दसैंमा आवतजावत निकै बढ्यो। विशेषगरी काठमाडौंबाट चाड मनाउन आफ्नो थातथलो फर्किनेहरुले कोरोना पनि गाउँगाउँमा लिएर गएको भन्दै जनस्वास्थ्यका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

महानगरीय ट्राफिक महाशाखाका अनुसार यसवर्षको दसैंको समयमा साढे दुई लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएका छन्। सोही अवधिमा करिब एक लाख ५० हजार यात्रु काठमाडौं भित्रिए।

चाडबाडको समयमा कोरोना संक्रमित क्षेत्रबाट गाउँ वा अन्य स्थानमा पुग्ने मानिसहरुले कोरोना संक्रमण फैलाउन सक्ने विज्ञहरुको अनुमान छ। साथै जाडो याममा कोरोना अझ सक्रिय हुने चिन्ता पनि उत्तिकै छ। चाडपर्वमा भएको चहलपहलका कारण कोरोना संक्रमणको परिणाम तिहारपछि देखिने जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी बताउँछन्।

भन्छन्, ‘यो समयमा चहलपहल हुनु, आवतजावत गर्नु अरिंगालको गोलामा ढुंगाले हानेको जस्तो समय हो। अब झन् फैलन सक्छ कोरोना।’ उनका अनुुसार अहिलेको चहलपहलको असर तत्कालै देखिँदैन। अबको १५ दिनपछि बल्ल यसको परिणाम देखिन सुरु गर्छ। 

‘गाउँमा धेरै आवतजावत नभएकाले कोरोना संक्रमण देखिएको छैन तर दसैंमा गाउँ पुग्नेहरुले संक्रमण लिएर गएका भए गाउँमा संक्रमण फैलन सक्छ। ग्रामीण क्षेत्रमा जनसंख्या नै कम भएकाले संक्रमितको संख्या कम देखिन सक्छ तर पनि संक्रमण फैलिएमा अवस्था कठिन हुन सक्छ,’ डा. मरासिनी भन्छन्। 

सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन पनि चाडबाडको समयमा चहलपहल भएसँगै गाउँगाउँमा कोरोना पुगेको आशंका गर्छन्। ‘गाउँ जाने मानिसले जनस्वास्थ्यका मापदण्ड अपनाएका थिए कि थिएनन् त्यसैको आधारमा संक्रमण फैलने हो। गाउँमा संक्रमण फैलियो भने अवस्था चिन्ताजनक हुन सक्छ,’ पुन भन्छन्।

जाडोमा थप सजगता जरुरी

जाडोको समयमा थप सजगता अपनाउन डा. पुन आग्रह गर्छन्। चिसोसँगै कोरोना भाइरस र मौसमी फ्लुको संक्रमण बढ्न सक्ने भएकाले सचेत हुन उनले सुझाव दिएका छन्। ‘कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाइएका स्वास्थ्य मापदण्ड निरन्तर लागू गर्न सकेमा मौसमी फ्लूलगायत सरुवा रोगबाट पनि जोगिन सकिन्छ,’ डा. पुनको सुझाव छ।

चिसो बढ्दै गएपछि समूहमा बस्दा मौसमी फ्लू र कोरोना भाइरस झनै फैलने जोखिम रहेकाले सकेसम्म समूहमा नबस्न, अनिवार्य मास्क लगाउन, बेलाबेला साबुनपानीले राम्रोसँग हात धुन, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउन र व्यक्तिगत दूरी कायम गर्न चिकित्सकहरुको सुझाव छ।

डा. पुनका अनुसार जाडोको समय सुरु भएसँगै विभिन्न भाइरल इन्फेक्सन देखिन सक्छ। कोरोना भाइरससँगै सिजनल फ्लु र रुघाखोकीको मिल्दोजुल्दो लक्षण देखिन्छन्।

योसँगै स्वाद नपाउने, गन्ध हराउने, आँखाको गेडी धेरै दुख्ने भएमा कोरोना भनेर बुझ्नुपर्छ। रुघाखोकीको लक्षण देखिएका व्यक्तिले आफूलाई कोरोना संक्रमण देखिएको हो कि होइन भन्ने थाहा पाउन आफू संक्रमित व्यक्तिको नजिक भए–नभएको, संक्रमणयुक्त ठाउँमा गए–नगएकोबारे जानकार हुनुपर्ने डा. पुन बताउँछन्।
 

प्रकाशित: Oct 30, 2020| 05:40 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्