काठमाडौं– १३ औं सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ४९ औं खेल हुँदैछ। आजको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
कोलकाताका लागि आजको खेल प्लेअफको लडाइँ हुनेछ भने चेन्नईका लागि सम्मानको खेल हुनेछ। आजको खेलमा जित निकाल्न सकेमात्र उसको प्लेअफ यात्रा कायम रहन सक्छ। उसले खेल हारेमा अर्को टिमको नतिजामा अघिको यात्रा निर्भर रहनेछ।
यता प्रतियोगिताबाट बाहिरिसकेको चेन्नई अन्तिम दुई खेलमा सान्त्वना जित निकाल्न चाहन्छ। अहिलेको अंकतालिका हेर्ने हो भने पनि कोलकाता चेन्नईभन्दा बलियो स्थानमा छ। कोलकाता पाँचौ स्थानमा छ भने चेन्नई पुछारमा छ।
यी दुई टिमबीच जारी सिजनमा सम्पन्न पहिलो खेलमा भने कोलकाताले चेन्नईलाई १० रनले हराएको थियो।
चेन्नईले १६८ रनको लक्ष्य चेज गर्न सकेको थिएन। उक्त खेलमा राम्रो प्रदर्शन गरेका शुभमन गिल र इयोन मोर्गन आजको खेलमा पनि केन्द्रमा रहनेछन्। यता फाफ डूप्लेसिस र अम्बाती रायडूमा चेन्नईको टिम निर्भर रहनेछ।
आईपीएलमा चेन्नईले तीन र कोलकाताले दुई उपाधि जितेका छन्। इतिहास हेर्ने हो भने यी दुई टिमबीच २७ खेल भएका छन्। जसमा कोलकाताले ९ खेल जितेको छ भने १७ खेलमा चेन्नई विजयी भएको छ। एक खेल भने नतिजाविहीन भएको थियोे।
सम्भावित प्लेइङ सेट
चेन्नईः महेन्द्र सिंह धोनी (कप्तान), फाफ डुप्लेसिस, रितुराज गायकवाड, अम्बाती रायडू, एन जगदिशन, सम करन, मिशेल जडेजा, इमरान ताहिर, दिपक चाहर, मोनू सिंह
कोलकाताः इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, शुभमन गिल, नितिश राण, राहुल त्रिपाठी, सुनिल नरेन, पट कमिन्स, लकी फग्र्युसन्, कमलेश नगरकोटी, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती