काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्नले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको खेलमा नाटकीय जित निकालेको छ। लोकोमोटिभ मस्कोको मैदानमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध बायर्नले २–१ गोलको जित निकालेको हो।
बायर्नको जितका लागि लियोन गोरेट्जा र जोसुवा किमिचले १–१ गोल गरे। खेलको १३ औं मिनेटमा गोल गर्दै गोरेट्जाले सुरुवाती अग्रता दिलाएका थिए।
उनको गोलसँगै पहिलो हाफमा बायर्न एक गोलले अघि रह्यो। तर ७० औं मिनेटमा मस्कोका एन्थोन मिरान्चुकले गोल गर्दै खेलाई बराबरीमा ल्याइहाले।
बराबरीसँगै दबाबमा आएको बायर्नले ७९ औं मिनेटमा गोल थप्दै पुनः अग्रता बनाइहाल्यो। सोही अग्रतासँगै बायर्नले खेल जितेको हो। बायर्नले च्याम्पियन्स लिगमा लगातार १३ औं जित निकालेको छ।
जितसँगै ६ अंक बनाएको बायर्न समूहको शीर्षस्थानमा छ। यता पराजित मस्को भने एक अंकसहित समूहको तेस्रो स्थानमा छ।
समूह ए अन्तर्गत नै मंगलबार राति सम्पन्न अर्को खेलमा एटलेटिको मड्रिडले घरेलु मैदानमा आरबी साल्जबर्गविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकालेको छ। पहिलो खेलमा पराजित बायर्नसँग पराजित एटलेटिकोले जितको सुरुवात गरेको हो।
वान्डा मेट्रोपालिटानोमा सम्पन्न खेलमा घरेलु टिमका मार्कोस ल्लोरेन्टले २९ औं मिनेटमा अग्रता बनाएका थिए। तर ४० औं मिनेटमा साल्गबर्गका डोमिनिक सजोबोजियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफको दोस्रो मिनेटमै मेर्गिम बेरिशाले गोल गरेर साल्जबर्गलाई अग्रता दिलाए।
एक गोलले पछि परेको अवस्थामा युवा खेलाडी जोआ फेलिक्सले ५२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
उनले नै ८५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एटलेटिकोलाई जित दिलाए। जितसहित तीन अंक जोडेको समूहको दोस्रो स्थानमा छ भने पराजित साल्जबर्ग पुछारमा छ।