काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। युएइको शारजहा मैदानमा भएको खेलमा उसले सनराइजर्स हैदराबादविरुद्ध ८८ रनको हार बेहोरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले मात्र दुई विकेटको क्षतिमा पूरा ओभर खेल्दै २१९ रन बनाएको थियो। २२० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली एक ओभर बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३१ रनमा सीमित भएपछि हैदराबादले सानदार जित निकालेको हो।
हैदराबादको जितका लागि रिद्धिमान शाहले सर्वाधिक ८७ रन प्रहार गरे। उनले दुई छक्का र १२ चौकाको मद्दतमा सो रन जोडे। त्यस्तै कप्तान डेबिड वार्नरले ६६ रन बनाए भने मनिष पाण्डे ४४ रनमा अविजित रहे। अष्ट्रेलियन खेलाडी केन विलियम्सन ११ रनमा नट आउट रहे।
यता दिल्लीका एनरिच नोर्तजे र रविचन्द्र अश्विनले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा आएको दिल्लीले खराब सुरुवात गर्दै पावर प्लेमै तीन विकेट गुमाएको थियो। सातौं ओभरको पाँचौ बलमा अर्का खेलाडी गुमाउँदा दिल्लीलाई ठूलो घाटा लागेको थियो।
यसैबीच अजिंक्य रहाणेले भने २६ रन जोड्न सके। त्यस्तै, ऋषभ पन्तले ३५ रन जोडे भने सिमरोन हेट्मेयरले १६ र तुषहर देशपाण्डेले २० रनको योगदान दिए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
हैदराबदका लागि राशिद खानले तीन विकेट लिए भने सन्दिप शर्मा र टी नटराजनले समान २–२ विकेट लिए। एक विकेट लिनेमा शबज नदिम, जेसन होल्डर र विजय संकर रहे।
जितसहित १० अंक बनाएको हैदराबाद छैटौं स्थानमा उक्लिएको छ भने दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा छ। दिल्लीले आज पाँचौ हार बेहोरेको हो।
अंकतालिकामा समान १४ अंक बनाएका मुम्बई र दिल्ली क्रमशः शीर्ष र दोस्रो स्थानमा छन्। त्यस्तै १२ अंक भएका पञ्जाब र कोलकत्ता चौथो र पाँचौ स्थानमा छन्।
राजस्थान १० अंकसहित सातौं स्थानमा रहँदा ८ अंक बनाएको चेन्नई पुछारमा छ।