शुक्रबार, फागुन २९, २०८२

बिहार चुनाव : पुष्पम् प्रियाको उचाइ छुने रहर

बोस्टन कन्सल्टिङ ग्रुप र लन्दन स्कुल अफ इकोनोमिक्सका लागि 'विकसित लोकतन्त्रमा सार्वजनिक नीति परियोजना' बारे काम गरिरहेका बेला बिहारमा इन्सेफ्लाइटिसबाट बालबालिकाको धमाधम मृत्यु हुन थालेको खबरले उनी बिहार फर्किइन्। 
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं– लन्दन स्कुल अफ इकोनोमिक्समा जनप्रशासन अध्ययन गरेकी पुष्पम् प्रिया चौधरीले आफूलाई बिहारको आगामी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिरहेकी छन्। 

National life

उनले ट्विटरमा एकजनालाई मात्रै फलो गर्छिन्, ती हुन् सिमोन हिक्स। बेलायतका हिक्स चुनाव र चुनावी प्रणालीका वैश्विक विशेषज्ञ हुन्। 

सधैं कालो पहिरनमा देखिने यी युवतीको बोल्ने शैली आकर्षक छ। प्राचीन मिथिलाकी प्रसिद्ध महिला दार्शनिक मैत्रेयी, गार्गी र बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरलाई सँगसँगै स्मरण गर्छिन्। बिहारका इतिहास पुरुष, सम्राट चन्द्रगुप्त, अशोक र राजनीतिक रणनीतिकार चाणक्यसँगै कवि विद्यापति पनि उनकाका भाषण र चुनावी अभियानका विषय हुने गर्छन्। 

पुष्पम् प्रियाले कहिल्यै कार्यान्वयन नहुने घोषणापत्र लिएर वर्षौंदेखि उस्तै भाषण गर्न आउने परम्परागत नेता र दलविरुद्ध मोर्चा खोलेकी छन्। 

जातिवादले नराम्रोसँग गिजोलेको बिहारमा उनी प्लुरल्स पार्टी र निर्वाचन चिह्न सेतो घोडा लिएर आएकी छन्। 

Laxmi sunrise bank
kumari

बिहार विधानसभाको चुनावमा उनको उपस्थितिलाई स्विकारसम्म गरिरहेका छैनन्। तर, उनी शान्त भएर चुनौती स्वीकार गरिरहेकी छन्। 

यसलाई अति आत्मविश्वास वा अनौठो निश्च्छलता भन्न सकिएला, उनी सम्पूर्ण गम्भीरताका साथ आफ्नो काम गरिरहेकी छन्। 
प्रत्येक दिन बिहारका सडक र गल्लीमा घुम्दै उनी बिहारी नागरिकलाई शासन परिवर्तन गर्न र बिहारलाई समृद्ध बनाउनुपर्ने आवश्यकताका बारेमा सम्झाइरहेकी हुुन्छिन्। 

ब्रिटिस अंग्रेजी, बिहारी हिन्दी र मैथिलीको मिश्रण शैलीमा विकासका एजेन्डा र विचारधाराबारे उनका कुरा गाउँलेहरु धैर्यपूर्वक सुनिरहेका देखिन्छन्। कसैले उनको प्रशंसा गर्छन्, कोही अचम्म पर्छन्। कोही जिज्ञासाबस उनको पछि लागिरहेका पनि देखिन्छन्। 

सधैं कालो रङको पहिरन र कालै फेस मास्कमा देखिने पुष्पम् प्रिया भन्छिन्, ‘अहिलेका नेता र सत्ताको विरोध हो यो पहिरन।’ किनभने बिहारका अधिकांश नेता सधैंजसो सेतो कुर्ता पाइजामा वा धोती कुर्ता लगाउँछन्। उनी अगाडि भन्छिन्, ‘उनीहरु किन सधैं सेतो लगाउँछन्? संविधानमा त यस्तो ड्रेस कोड छैन।’

उनलाई सुन्ने र उनको पछि देखिने भीड चुनावका लागि मतमा परिवर्तन होला न होला तर, उनले बिहारको राजनीतिमा आफ्नो उपस्थिति दर्ता गराइसकेकी छन्। 

तीन दशकदेखि भाजपाको कब्जामा रहेको बिहार, पटनाको बांकीपुर क्षेत्रबाट उम्मेदवारी दिएकी छन् उनले ।

बिहारमा दशकौंदेखि जातीय राजनीति हाबी छ। समाजको सबै वर्गमा लामो समयदेखि जारी समस्याबाट खिन्नता छ। चौधरी भन्छिन्, ‘सबै नेता र दल उस्तै भएकाले अहिलेसम्म मतदातासँग विकल्प थिएन, अब म आएकी छु र जनतासँग विकल्प छ।’

मुख्यमन्त्री पदका दाबेदार नीतिश कुमार र तेजस्वी यादव दुबैलाई पराजित गर्ने उनको दाबी छ। भन्छिन्,‘लोकतान्त्रिक प्रक्रिया जटिल छैन, आफ्नो प्रदर्शन अनुसार भोट माग्ने र दिने हो। ३० वर्षदेखि बिहार उस्तै छ। रोजगारीका अवसर छैनन्, उद्योग खुलेका छैनन्। अब बिहारका जनतालाई आफ्नो भविष्य चयन गर्ने अन्तिम अवसर आएको छ।’

चौधरीको प्लुरल्स पार्टीले सबै २४३ क्षेत्रमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। यद्यपि, पहिलो चरणको निर्वाचनका लागि उनका धेरै उम्मेदवारको नामांकन रद्द भएको छ। उनी आफैंले पनि पटनाको बाँकीपुर र मधुबनीको बिस्फीबाट उम्मेदवारी दिएकी छन्। 

अहिले उनी अनलाइन माध्यमबाट आएका उम्मेदवारी आवेदनलाई अन्तिम रुप दिंदै छन्। उनका उम्मेदवारको सूचीमा डाक्टर, प्रोफेसर, शिक्षक, सेवानिवृत सैनिक अधिकारी, गृहणी लगायत सामेल छन्। 

उनको राजनीतिक शैलीको तुलना अरविन्द केजरीवालको चुनावी रणनीतिसँग हुन थालेको छ। तर, उनी आफ्नो चुनावी रणनीति र राजनीति फरक रहेको दाबी गर्छिन्। जातिवादबाट पिल्सिएको बिहारमा परिवर्तन ल्याउन उनले आफ्ना उम्मेदवारको नाममा जातिको ठाउँमा पेशा र धर्मको ठाउँमा बिहारी उल्लेख गर्छिन्। 

विज्ञापनबाट चर्चा

मार्चमा चौधरी त्यसबेला चर्चा आइन् जब उनले बिहारका सबै प्रमुख अखबारमा आफूलाई मुख्यमन्त्री पदको उम्मेदवार घोषणा गर्दै दुई पेजको विज्ञापन प्रकाशित गराइन्। उक्त विज्ञापनमा सन् २०२५ सम्म बिहारलाई सबैभन्दा विकसित राज्य र सन् २०३० सम्म युरोपेली देश बराबर विकासित बनाइने वाचा गरिएको थियो। 

यो विज्ञापन देशव्यापी लकडाउनभन्दा दुई साताअघि मात्र प्रकाशित भएको थियो। यो विज्ञापनले धेरै मानिसहरु अचम्ममा परे र उनको पहिचानमा पनि धेरै अनुमान गरिए। 

पुष्पम प्रिया चौधरी विहारको राजनीतिका लागि अनजान नै भने होइनन्।  दरभंगामा जन्मिएकी चौधरीको परिवार मुख्यमन्त्री नीतीश कुमारको निकट मानिन्थ्यो। उनका हजुरबुवा मुख्यमन्त्रीका सहयोगी थिए भने पिता विधायक थिए। 

विद्यालय शिक्षा दरभंगामै लिएकी उनले बेलायतको ससेक्स विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातकोत्तर गरेकी छन्। उनले ‘बिहारको विफल नीतिहरु’ को अध्ययन गरेकी छन् र सन् २०१५ मा विधानसभा निर्वाचनमा मतदान व्यवहारमाथि अनुसन्धान पनि गरेकी छन्। लन्दन स्कुल अफ इकोनोमिक्समा उनको डिग्री यही विषयमा छ। 

बोस्टन कन्सल्टिङ ग्रुप र लन्दन स्कुल अफ इकोनोमिक्सका लागि सन् २०१८–२०१९ मा विकसित लोकतन्त्रमा सार्वजनिक नीति परियोजनाबारे काम गरिरहेका बेला बिहारमा फैलिएको इन्सेफ्लाइटिसबाट बालबालिकाको मृत्यु प्रतिवेदनले उनलाई चिन्तित बनायो र बिहार फर्किइन्। 

आफ्नो प्रचार अभियानमा उनले मिथियलाको खोइन्छा कार्यक्रम सुरु गरेकी छन्। यो कार्यक्रम अन्तर्गत मतदाताको घर घरमा गएर महिलाबाट एउटा कपडाको टुक्रामा चामल र एक रुपैयाँको सिक्का लिइन्छ। बिहारमा खोइन्छा सौभाग्य र आशिर्वादको प्रतीक मानिन्छ। चौधरीका अनुसार जीतपछि उनले राज्यको विकास मार्फत ऋण तिर्नेबारे खोइन्छाले स्मरण गराइरहने छ।

उनी भन्छिन्, ‘मसँग अहिले आर्थिक स्रोतको अभाव छ। तर, क्राउड फन्डिङ बाहेक् राज्य बाहिरका साथी र शुभेच्छुकले यो अभियानमा सहयोग गरिरहेका छन्।’

मतदाताले अब उनको वायुपंखी सेतो घोडालाई उडान भर्ने मौका दिन्छन् वा उनका सपनालाई जमिनमा उतारिदिन्छन् १० नोभेम्बरका दिन थाहा हुनेछ। तर, जातीय राजनीति र भ्रष्टाचारले गिजोलेको बिहारमा पुष्पम प्रियाले नयाँ कम्पन भने उत्पन्न गरेकै छन्।

-आउटलुक, हिन्दू आदि भारतीय पत्रिकाको सहयोगमा

प्रकाशित: Oct 27, 2020| 14:20 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।