काठमाडौं– इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस वेरोनासँग बराबरीमा रोकिएको छ।
युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिमसँग १–१ को बराबरी भएको हो।
प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका डेजन कुलुसेभ्स्कीले गोल गरेका थिए भने वेरोनाका आन्द्रे फावीले गोल गरे। पहिलो हाफ गोलरहित बरबरी भएकाले दुवै टिमले दोस्रो हाफमा मात्र गोल गरे।
खेलको ६० औं मिनेटमा पाहुना टिमका फावीले गोल गर्दै पहिले अग्रता बनाए पनि कुलुसेभ्स्कीले मोराटाको पासमा ७७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
बराबरीसहित ९ अंक बनाको युभेन्टस अंकतालिकाको पाँचौै स्थानमा छ। त्यस्तै, वेरोना ८ अंकका साथ आठौं स्थानमा छ।
आइतबार राति नै सम्पन्न अर्को खेलमा नापोलीले बेनिभोन्तोविरुद्ध २–१ गोलको जित निकालेको छ। बेनिभेन्तोको घरेलु रंगशालमा पाहुना टिमले जित निकालेको हो।
नापोलीको जितका लागि लोरेन्जो इन्सिग्नी र आन्द्रे पेटाग्नाले समान १–१ गोल गरे। यता घरेलु टिमका रोबर्टो इन्सिग्नीले सुरुवाती गोल गरेका थिए।
बेनिभेन्तोले सुरुवती अग्रता जोगाउन नसकेपछि हार बेहोरेको हो। यता नापोली जिसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने बेनिभेन्तो १३ औं स्थानमा छ।