काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सहज जित निकालेको छ।
दुबई रंगशालामा सम्पन्न खेलमा चेन्नई आठ विकेटले विजयी भएको हो।
टस जितेर ब्याटिङ राजेको बैंगलोरले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। १४६ रनको लक्ष्य पछ्याएको चेन्नईले दुई विकेट गुमाउँदै आठ बल बाँकी रहँदा लक्ष्य पूरा गर्यो।
चेन्नईको जितका लागि रितुराज गायक्वडले अविजित ६५ रन बनाए भने फाफ डुप्लेसिस र अम्बाती रायडू क्रमशः २५ र ३९ रनमा आउट भए। खेलमा कप्तान धोनीले अविजित रहँदै १९ रन बनाए।
यता बैंगलोरका क्रिस मोरिस र युजवेन्द्र चहलले समान १–१ विकेट लिए।
पहिलो ब्याटिङमा आएको बैंगलोरका कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, एबी डिबिलियर्सले ३९ रन बनाए भने देवदत्त पोडिक्कलले २२ रन बनाएका थिए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
चेन्नईका लागि साम कुरालनले तीन विकेट लिए भने दीपक चहरले दुई विकेट लिए। एक विकेट लिनेमा माइकल सन्तनर रहे।
जितसहित चेन्नई सुपर किंग्स एक स्थान उक्लँदै पुछारबाट दोस्रो स्थानमा छ। बैंगलोर १४ अंकका साथ तेस्रो स्थानमा छ।
आईपीएल अंकतालिकामा मुम्बई इन्डियन्स र दिल्ली क्यपिटल समान १४ अंकका साथ शीर्षस्थान र दोस्रो स्थानमा छन्।
आजको दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्यबीच प्रतिस्पर्धा हुँदै छ।