काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ।
युनाइटेडको मौदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा गोलरहित बराबरी भएको हो।
युनाइटेडका मार्कस रासफार्डले प्रहार गरेको दुवै बल चेल्सीका किपर एडबर्ड मेन्डीले उत्कृष्ट बचाउ गर्दै जित हुन दिएनन्। यता चेल्सीले भने आक्रामक खेल देखाउन सकेन।
यससँगै युनाइटेडले जारी सिजनका पहिलो तीन घरेलु खेलमा जित निकाल्न सकेको छैन।
चेल्सीले २०१८–१९को सिजनपछि स्ट्यामफर्ड ब्रिज रंगशालाबाहेक पहिलो प्रिमियर लिग क्लिन सिट राखेको छ। उसले २०१८–१९ मा अन्तिम पटक विनागोल बराबरी खेलेर क्लिन सिट राखेको थियो।
गएरातिको बराबरीसँगै दुबै टिमले अंक बाँडेका छन्। चेल्सी ९ अंक बनाउँदै छैटौं स्थानमा छ भने युनाइटेड ७ अंकका साथ १५ औं स्थानमा छ।
त्यस्तै शनिबार राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट हामसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
वेस्ट हामको मैदानमा सम्पन्न खेलमा घरेलु टिमका लागि माइकली एन्टोनियोले गोल गरे भने म्यानचेस्टर सिटीका लागि फिल फोडेनले गोल गरे।
उक्त बराबरीसँगै सिटीले ८ अंक बनाएको छ भने वेस्ट हामको पनि समान ८ अंक छ। सिटीले पाँच खेल खेलेको छ भने वेस्ट हाम ६ खेलमा सहभागी बनेको छ।