काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ।
अंकतालिकामा दोस्रो स्थानको दिल्लीलाई चौथो स्थानको कोलकाता नाइट राइडर्सले ५९ रनले हराएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्यका साथ मैदान पसेको दिल्ली क्यापिटलले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १३५ रनमै समेटिएपछि कोलकाताले जित निकालेको होे।
जितका लागि नितिश रानाले सर्वाधिक ८१ रनको अर्धतशतकीय पारी खेले। उनले एक छक्का र १३ चौकको मद्दतमा सो रन बनाए। त्यस्तै सुनिल नरेनले ३२ बलमा ६४ रन बनाए भने कप्तान इयोन मोर्गनले १७ र राहुल त्रिपतिले १३ रन बनाए।
दिल्लीका एनरिच नोर्तजे, कागिसो रबडा र मार्कस स्टोइनिसले समान २–२ विकेट गिराए।
जबाफी ब्याटिङमा आएको दिल्लीले खराब सुरुवात गर्दै १३५ रन बनाउँदा कप्तान श्रेयश अयर ४७ रनमा आउट भए भने ऋषभ पन्तले २७ रन बनाए।
यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
कोलकाताका वरुण चक्रवर्तीले दिल्लीको पाँच विकेट गिराउँदा पट कमिन्सले तीन विकेट लिए। एक विकेट लिनेमा लकी फग्र्युसन रहे।
जितसहित कोलकाताले अंकतालिकामा दुई अंक थपेको छ। उसले ११ खेलबाट छैटौं जित निकाल्दै १२ अंक बनाएको छ भने चौथो स्थानमा कायम छ। दिल्ली क्यापिटल १४ अंकका साथ दोस्रो स्थानमा छ।
दिल्लीले सिजनको पहिलो खेलमा कोलकातालाई १८ रनले हराएको थियो। दिल्लीले पहिलो खेलमा सुरुवाती ब्याटिङ गर्दै २२४ रन बनाएको थियो।
उक्त लक्ष्य कोलकाताले भेट्न सकेको थिएन्। तर, आज सम्पन्न दोस्रो खेलमा उसले त्यो हारको पनि बदला लिएको छ।
आज पौने ८ बजे सुरु हुने दोस्रो खेलमा दुबई रंगशालामा किंग्स इलेवेन पञ्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ।