युरोपा लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकालेको छ।
बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा आर्सनलले र्यापिड विनमाथी २–१ को पुनरागमन जित निकालेको हो। र्यापिड विनको घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितका लागि डभिड लुइज र पिएरे एमेरिक अबुमेयङले एक एक गोल गरे । र्यापिड विनका लागि फोउन्टसले एक गोल फर्काएका थिए ।
पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दास्रो हाफमा घरेलु टोली र्यापिड विनले अग्रता लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित हुन पुगेको हो ।
खेलको ५१ औं मिनेटमा काराको पासमा फोउन्टसले गोल गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । ७० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । पाहुना टोलीका लागि लुइजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन । उनले पेपेको पासमा गोल गरेका थिए ।
त्यस्तै ७४ औं मिनेटमा पिएरे एमेरिक अबुमेयङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले बेलेरिनको पासमा गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाएका हुन् ।
त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल आर्सनलले आफ्नो पक्षमा पारेको हो । यस जितसँगै समूह बीमा रहेको आर्सनलले तीन अंकबाट सुरुवात गरेको छ ।