काठमाडौं– कोभिड– १९ महामारीको रोकथामका लागि ब्रिटिश– स्विडिश कम्पनी एस्ट्राजेनेकाले बनाउँदै गरेको भ्याक्सिन परीक्षणमा सहभागी एक व्यक्तिको मृत्यु भएको छ। यद्यपि, परीक्षणको काम भने जारी नै रहने बताइएको छ।
ब्राजिलका यी स्वयंसेवीको मृत्युको सूचना ब्राजिलको स्वास्थ्य प्राधिकरणले दिएको हो। एस्स्ट्राजेनेकाले भने घटनाबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन।
ट्रायलमा कम्पनीलाई सहयोग गरिरहेको अक्सफोर्ड विश्वविद्यालयले भने एक विज्ञप्ति जारी गर्दै सावधानीपूर्वक घटनाको विश्लेषण गरेपछि ‘क्लिनिकल ट्रायलको सुरक्षाबारे नयाँ चिन्ता नथपिएको’ जनाएको छ।
विश्वविद्यालयले परीक्षण जारी राख्ने योजना पनि पुष्टि गरेको छ। रोयटर्सका अनुसार मृतक व्यक्ति भ्याक्सिन परीक्षणमा सहभागी भए पनि उनलाई कोरोना भ्याक्सिन नदिएर मेनिन्जाइटिसको भ्याक्सिन दिइएको थियो। रोयटर्सले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘यदि ती व्यक्तिलाई कोभिड– १९ भ्याक्सिन दिइएको भए, परीक्षण स्थगित गर्नुपर्थ्यो।’
भ्याक्सिनको क्लिनिकल परीक्षणका क्रममा सहभागीलाई कम्तीमा दूई समूहमा बाँडेर एउटालाई सम्बन्धित भ्याक्सिन दिइन्छ भने अर्कोलाई परीक्षण भइसकेका भ्याक्सिन वा सामान्य तरल दिइन्छ। त्यसपछि भ्याक्सिन दिइएका र नदिइएका व्यक्तिको शरीरमा आएको परीवर्तन मापन गरिन्छ।
ब्राजिलमा साओ पाउलो फेडरल विश्वविद्यालयले यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रयालमा समन्वय गरिरहेको छ। उक्त विश्वविद्यालयले पनि स्वतन्त्र समीक्षा समितिले भ्याक्सिनको ट्रायल जारी राख्नु पर्ने सिफारिस गरेको उल्लेख गरेको छ। विश्वविद्यालयले मृतक ब्राजिलकै नागरिक भएको पुष्टि गरे पनि थप जानकारी भने दिएको छैन।
विश्वविद्यालयले भनेको छ, ‘सबै काम अपेक्षा अनुसार नै अगाडि बढिरहेको छ। र, ट्रायलमा सहभागी व्यक्तिमा भ्याक्सिनका कारण अहिलेसम्म कुनै गम्भीर समस्या देखिएको छैन।’
यो ट्रायलमा ब्राजिलमा १० हजार व्यक्तिलाई सहभागी गराउने योजना अनुसार अहिलेसम्म ८ हजारलाई दर्ता गरिसकिएको छ। ब्राजिलका ६ सहरमा रहेका उनीहरुमध्ये सबैलाई पहिलो खुराक दिइसकिएको छ भने केहीलाई दोस्रो खुराक पनि दिइसकेको छ।
मिडियामा आएका खबरमा मृतक व्यक्ति रियो दे जनेरो बस्ने २८ वर्षीय पुरुष भएको र कोभिड– १९ सम्बन्धी समस्याका कारण उनको मृत्यु भएको दाबी गरिएको छ। यसबीच एस्ट्राजेनेकाको शेयर मूल्य १.८ प्रतिशतले घटेको छ। ब्राजिल सरकारले यो भ्याक्सिनको अधिकार खरिद गरेर रियो दे जनेरोस्थित एक बायोमेडिकल अनुसन्धान केन्द्र फियोक्रुजमा उत्पादन गर्ने योजना बनाएको छ।
योसँगै चिनियाँ कम्पनी सिनोभेक बायोटेकले बनाइरहेको एउटा अर्को भ्याक्सिनको परीक्षण साओ पाउलो सरकारको अनुसन्धान केन्द्र बुटान्ता इन्स्टिच्युटमा चलिरहेको छ। तर, राष्ट्रपति जायर बोल्सोनारोले भने केन्द्र सरकारले उक्त भ्याक्सिन खरिद नगर्ने बताएका छन्।
ब्राजिल अमेरिकापछि कोरोना भाइरस महामारीबाट नराम्रोसँग प्रभावित देश हो। ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघिसकेको छ। संक्रमणमा ब्राजिल अमेरिका र भारतपछि तेस्रो नम्बरमा छ।
-एएफपी/डीडब्ल्यू