धनगढी- तस्करहरुद्वारा मारिएका प्रहरी जवान रामबहादुर साउदको सम्मानका साथ अछाममा अन्त्येष्टि गरिएको छ।
हत्या गरेको अवस्थामा भेटिएका उनको आज गृह जिल्ला अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको हो। प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थियो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए।
गत शनिबार नियमित गस्तीमा खटिएका बेला धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा फेला परेका थियो।
प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि ३०० मिटर तल उनको शव भेटिएको थियो। बिकको शव भने आइतबार बिहानै भेटिएको थियो।
दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ। केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।