काठमाडौं– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आमनागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन्। प्रहरीको व्यवहार दुरुस्त भयो भने संगठनको छविमा आमूल परिवर्तन आउने उनको भनाइ छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा बुधबार आयोजित १८० औं समूह (पोस्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११ औं समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै क्षेत्रीले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले दीक्षित भई कार्य क्षेत्रमा खटिने प्रहरी कर्मचारीलाई संस्थागत व्यवहारप्रति सदैव संवेदनशील बन्न आग्रह गरे।
‘आमनागरिकले प्रहरीमा राष्ट्र देख्छ। त्यसकारण निःसहाय नागरिक प्रहरीसमक्ष न्याय र सहयोगका निम्ति आएमा प्रहरीको व्यवहार दुरुस्त हुनुपर्छ’, उनले भने।
उनले असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जन उत्तरदायी प्रहरीका रुपमा आफूलाई प्रस्तुत गर्नसमेत प्रशिक्षार्थीलाई निर्देशन दिए।
समारोहमा क्षेत्रीले कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नीरबहादुर बानियाँ, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई पुरस्कार प्रदान गरे।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. हरिप्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउन समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताए।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई शपथ ग्रहण गराएका थिए।
समारोहमा अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्दराज आचार्यले तालिमसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
२३ वैशाख २०७६ मा सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा आठ महिलासहित १०८ जना प्रहरी निरीक्षक सहभागी थिए।
समारोहमा प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन र नेपाल प्रहरीले सांगीतिक धुन प्रस्तुत गरेका थिए। दीक्षित प्रहरी निरीक्षकहरुलाई अभिभावकहरुले दज्र्यानी चिह्न सुशोभन गरेका थिए।
दीक्षान्त समारोहमा पीजीडीपीएस कार्यक्रम सल्लाहकार प्रा.डा. राजीवविक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, प्रहरी नायब महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरू र प्रशिक्षार्थीका अभिभावकको सहभागिता थियो।