बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङ उर्लाबारीका शाक्य हत्या प्रकरणसँग जोडिएको सुन तस्करी मुद्दाको बहस आजदेखि

मोरङ उर्लाबारीका शाक्य हत्या प्रकरणसँग जोडिएको सुन तस्करी मुद्दाको बहस आजदेखि

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आइतबारदेखि सुरु हुँदैछ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

विराटनगर– मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आइतबारदेखि सुरु हुँदैछ। 

असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेर्दाहेर्दैमा राखिएको मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालाले बताए। मुद्दाको किनारा दसैंअगाडि नै लगाउने तयारी रहेको उनको भनाई छ। 

उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो। सो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेललगायतले बहस गर्ने छन्। 

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन काठमाडौं ल्याइपुर्‍याएपछि गायब बनाइएको थियो। अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो। 

गोरेको ‘सेटिङ’ र अरू व्यापारीको लगानीमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करीको सुन नेपाल भित्रदा विमानस्थलको सुरक्षार्थ खटिने प्रहरी अधिकारीले सहजीकरण गरिदिएको अनुसन्धानबाट खुलेको हो। 

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ। 

७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन्। २२ जना फरार नै रहेको र अदालती कारबाहीको प्रक्रियामा नआएको स्रोतले बताएको छ।

प्रकाशित: Sep 26, 2021| 07:03 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।