शुक्रबार, वैशाख २६, २०८२

एकल प्रयासमा तग्रंदै किसान

‘पेसा र पहिचान यही माटोले दिएको छ। कसैको अधीनमा बस्नुपरेको छैन। दुःख गरेर भए पनि जीवन खुसीसाथ बितेको छ।’ 
 |  मंगलबार, कात्तिक ४, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

मंगलबार, कात्तिक ४, २०७७

vianetvianet

पर्सा– ७७ वर्षीय सोनल महतोले अहिलेसम्म आइपुग्दा कृषि कर्ममा निकै सास्ती पाए। 

triton college

कहिले मल र कहिले उन्नत बिउ अभाव त कहिले उत्पादित तरकारीले पर्याप्त भाउ नपाउँदा उनी बेलाबेलामा निकै समस्यामा पर्छन्। 

पर्साको बहुदरमाई नगरपालिका–६ गम्हरियाका महतोले त्यस्ता अप्ठ्यारा सहँदै कृषि पेसा अपनाएको पाँच दशक नाघेको छ। 

युवा अवस्थादेखि नै उनको जीविका यही पेसाबाटै चल्दै आयो। 

तरकारीबाटै भएको आम्दानीले परिवार चलेको छ।

National life insurance

तीन छोरा र दुई छोरीको बिहे गरी अहिले उनी पक्की घरमा बसेका छन्। 

दुई बिघा खेतसमेत जोड्न सफल हतो जीवनको उत्तरार्धमा पनि तरकारीखेतीमै सक्रिय छन्। 

तर महतोले यस पटकजस्तो समस्या कहिल्यै भोग्नुपरेको थिएन। लकडाउनका बेला हाटबजारमा तरकारी बेच्न पाएनन्। खेतमै लगाएको सयौं क्विन्टल तरकारी माटोमा मिल्यो। 

उनले कतैबाट राहत पाएनन्। कृषिप्रधान देशमा किसानले कहाँ क्षतिपूर्ति पाउँछ र? हरेस खाएनन्। यति बेला एक प्रयासमा तंग्रने प्रयासमा जुटिसेकका छन्।

परिश्रमको त के हिसाब? लकडाउनका बेला डेढ बिघामा लगाएको भिन्डीले मुस्किलले बिउको मात्रै लगानी उठेको उनी बताउँछन्।

लकडाउन र निषेध आदेशले मारमा परेका महतो भिन्डी फँडानी गरेर काउली लगाएका थिए। निरन्तरको वर्षाले दुई–दुई पटक रोपेको बिरुवा नष्ट भयो।

विगतका दसैंतिहारमा काउली खेतीबाट मनग्ये आम्दानी हुन्थ्यो। यस वर्ष उत्पादनमा मौसमले पनि साथ दिएन। 

वर्षाले काउली मात्रै होइन तोरी, भान्टा र मूलामा समेत क्षति पुर्‍याएको छ। 

उनले भने, ‘भएजति पैसा लकडाउनमा सकियो। दसैंका बेला हातमा केही छैन। बिउ, बिजन, मलमा गरेको लगानी पानीमै बग्यो।’ 

तेस्रो पटकको मेहनतले केही आम्दानी हुनेमा आशावादी छन्। भन्छन्, ‘पेसा र पहिचान यही माटोले दिएको छ। कसैको अधीनमा बस्नुपरेको छैन। दुःख गरेर भए पनि जीवन खुसीसाथ बितेको छ।’ 

उनले सरकारले किसानलाई सहुलियत दिन्छ भन्ने सुनेका छन्। त्यसमा पहुँच नभएकाले आसै नरेको उनी बताउँछन्। 

बिउभन्दा मल महँगो छ। त्यसैले उनले खेतमा प्रांगारिक मलका रुपमा खादर (गोबर) हाल्ने गरेका छन्। यस्तो मल प्रति ट्याक्टर चार हजार रुपैयाँ पर्छ। एक कठ्ठा खेत तयार गर्न ज्यालामजदुरी गरी प्रतिकठ्ठा १० हजारसम्म खर्च हुने महतो बताउँछन्। 

महतोलाई पत्नी, छोरा र बुहारीले सघाउँछन्। परिवारका सबै सदस्य मिलेर काम गर्छन्। कोही जमिन तयार गर्छन् त कोही बिउ रोप्छन् अनि कोही मल हाल्न खटिन्छन्। गोडमेलमा सबै सहभागी हुन्छन्। उत्पादित तरकारी बजारसम्म लैजान पनि सबैले जिम्मेवारी लिन्छन्।

उनले रोपेको काउली उत्पादन ४५ दिनमा हुन्छ। डेढ बिघामा बिउसमेत गरी दुई लाख रुपैयाँ जति लाग्छ। बजार भाउ राम्रो भएका बेला पाँच लाखजति आम्दानी हुने उनी बताउँछन्। उनी काउलीपछि बोडी, भिन्डी, घिरौंला र करेला खेती गर्छन्। त्यसपछि बर्खामा धान रोप्छन्। 

उन्नत खेती प्रविधिबारे विभिन्न निकायले तालिम दिने गरे पनि उनी त्यसमा सहभागी हुन पाएका छैनन्। सबै काम बुवाबाटै सिकेको उनी बताउँछन्। उनलाई तरकारीमा लाग्ने किरा वा रोग नियन्त्रणको उपाय भने सिक्न मन छ। 

तरकारी खेतमा काम गर्दै पर्साको बहुदरमाई नगरपालिका–६ गम्हरियाका महतोकाे परिवार। तस्बिर : जियालाल साह

पर्साको बहुदरमाई नगरपालिकाको गम्हरिया र भौराटारको क्षेत्र तरकारी खेतीमा उर्वर मानिन्छ। यहाँ यस वर्ष मात्रै ६० बिघामा काउली खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र यादव बताउँछन्। 

बहुदरमाई नपाका–६ गम्हरियाकी अर्की किसान प्रभा देवी खेती गर्न सरकारबाट कुनै सुविधा नमिले पनि जनप्रतिनिधिले सहयोग गरिदिए हुने बताउँछिन्। 

लकडाउनका बेला तरकारी खेतमै कुहिँदा पनि कुनै किसानलाई  निकायले कुनै सहयोग नगरेको उनको गुनासो छ। 

उनले सयकडा पाँचमा लिएको कर्जासमेत तिर्न सकेकी छैनन। भन्छिन्, ‘किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा बेच्न पाए नाफा हुन्छ, बिचौलिया आए भने हुँदैन।’ 

नगरपालिकाका मेयर नितेन्द्र साह तरकारीखेतीका लागि किसानलाई उन्नत जातका बिउबिजन दिने गरिएको बताउँछन्। 

भन्छन्, ‘बालीमा लाग्ने रोग र किराबाट बचाउन खेतमा छर्किने औषधिका लागि स्प्रे ट्यांकी पनि वितरण गरिएको छ।’ 

बजेटभन्दा बढी आवश्यकता भएकाले सबैलाई दिन नसकिएको उनको भनाइ छ।

सिँचाइका लागि अधिकांश ठाउँमा बोरिङ जडान गरिएको उनले बताए। कस्तो माटोमा के खेती कसरी गर्ने, कसरी बाली उब्जाउने भनेर कृषि विज्ञलाई माटो परीक्षण गराइएको दाबी उनको छ।

लकडाउनका भएको क्षतिबारे कुनै किसान पनि आफूकहाँ गुनासो नगरेको मेयर साह बताउँछन्। 

कृषि ज्ञान केन्द्र पर्साका अधिकृत डा. रामचन्द्र यादव पनि वर्षाले कति क्षति भयो भन्ने विवरण आफूसँग नरहेको बताउँछन्। उनी भन्छन्, ‘स्थानीय तहले बुझेर किसानलाई क्षतिपूर्ति दिनुपर्छ।’

प्रकाशित: Oct 20, 2020| 09:05 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्