काठमाडौं– नेपाल अप्थाल्मिक सोसाइटीमा नयाँ नेतृत्व चयन भएको छ। हालै सम्पन्न साधारणसभाले सन् २०२०–२२ का लागि नयाँ कार्यसमिति चयन गरेको हो।
यस वर्ष कोरोना भाइरस महामारीका कारण अनलाइन भोटिङ गरेर नयाँ कार्यसमिति चयन गरिएको थियो। साधारणसभामा ९४.४ प्रतिशत सदस्यको सहभागिता थियो। यस वर्ष विदेशमा रहेका सदस्यहरुले पनि भोट गर्ने अवसर पाएका थिए।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा प्राध्यापक डाक्टर रोहित सैंजु चयन भएका छन्। त्यस्तै १३ जना सदस्य पनि चुनिएका छन्।
नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष प्रा.डा. बद्री पी. बडु, उपाध्यक्ष प्राडा सलमा केसी, महासचिव डा. पुरुषोत्तम जीसी, सहसचिव डा. कौशल पोखरेल, कोषाध्यक्ष डा. भाइराजा श्रेष्ठ र सहकोषाध्यक्ष डा. चाँदनी प्रधान रहेका छन्।
त्यसैगरी सदस्यहरुमा डा. रोशिजा खनाल, डा. तेज्सु सिंह मल्ल, डा. अनदी केसी, डा. रविन्द्र सिंह ठकुरी र डा. लिली राजवंशी चयन भएका छन्।
नवनिर्वाचित कार्यसमिति सदस्य डा. मल्ल अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो, क्रक इन्स्टिच्युट अफ पिस एन्ड जस्टिस (आईपीजे) र काठमाडौंस्थित लिडरशीप एकेडेमीद्वारा सञ्चालित नेपाल इमर्जिङ लिडर्स प्रोग्राम (एनइएलपी) का प्रशिक्षार्थी पनि हुन्।
सन् १९८५ मा स्थापित नेपाल अप्थाल्मिक सोसाइटी देशको एउटा अग्रणि व्यावसायिक संगठन हो। यसमा देशभरका २३५ भन्दा बढी आँखा रोग विशेषज्ञ सदस्य छन्।