काठमाडौं– साविक विजेता युभेन्टस शनिबार राति सम्पन्न खेलमा क्रोटोनसँग बराबरीमा रोकिएको छ। उसले घरेलु टिम क्रोटोनसँग १–१ गोलको बराबरी खेलेको हो।
एक गोलले पछि परेको अवस्थामा अल्भेरो मोराटाले २१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपहिले क्रोटोनका सिमअन टोचुव्यूले १२ औं मिनेटमा पेनाल्टीमा पाएका अवसरको सदुपयोग गर्दै सुरुवाती गोल गरेका थिए।
यता खेलको ६० औं मिनेटमा युभेन्टसका फेडरिक चाइसा रेड कार्ड खाँदै बाहिरिए। उनले क्रोटोनका लुकास किगारिनीलाई लडेको अवस्थामा खुट्टाले प्रहार गरेका थिए।
त्यसपछि उनलाई रेफ्रिले सीधा रेडकार्ड देखाइदिए।
पहिलो हाफबाटै दबाबमा रहेको युभेन्टसले गोल गर्न सकेन। बराबरीका साथ युभेन्टस अंकतालिकाको चौथो स्थानमा छ भने क्रोटोन पुछारबाट तेस्रो स्थानमा छ।
युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने कोरोना संक्रमणका कारण आइसोलेसनमा छन्।
इटालियन सिरि ए कै शनिबार राति सम्पन्न अर्को खेलमा एसी मिलानले इन्टर मिलानविरुद्ध २–१ गोलो जित निकालेको छ।
त्यस्तै, साम्दोरियाले लाजियोलाई ३–० ले हराउँदा नापोलीले एटलान्टाविरुद्ध ४–१ गोलको जित निकालेको छ।