चितवन- कोरोना संक्रमणका कारण खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य बद्रीवहादुर पाण्डेको मृत्यु भएको छ। ४९ वर्षीय उनी क्यान्सर रोगबाटसमेत पीडित थिए।
भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो।
उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो।
अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको अवस्थामा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। पाण्डेको निधनमा काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले गहिरो दुःख प्रकट गरेका छन्।
प्रवक्तालाई कोरोना
उता लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो।
मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराए।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन्। यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिए।