काठमाडौं- यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज (शुक्रबार) देखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो।
आजदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन निकालेर जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो। यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन्। गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो। रासस