पोखरा- दसैंको बिदा सुरु भएपछि घान्द्रुकमा स्वेदशी पर्यटकको लर्को नै लाग्थ्यो। माछापुच्छ्रे को शीर हातैले छुन सकिनेजस्तो दृश्य हेर्न आएका पाहुनालाई सत्कार गर्न स्थानीयलाई भ्याईनभ्याई हुने गथ्र्यो।
अहिले भने अवस्था फेरिएको छ। पहिला पर्यटकका लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने घान्द्रुकवासीले यसपालीको दसैंमा भने पर्यटक मात्रै हैन भान्जाभान्जी र छोरी ज्वाइँलाई समेत गाउँमा नआउन आग्रह गरेका छन्।
घान्द्रुक पर्यटन समितिले बिहीबार बैठक नै बसेर आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई आउन नदिने निर्णय गरेको हो। समिति अध्यक्ष स्थानीय अगुवा किसम गुरुङले भने, ‘हामी मावली, ससुराली पनि टीका थाप्न नजाने, ‘भान्जाभान्जी, छोरीज्वाइँ कसैलाई पनि नआउन भनिएको छ।’
गाउँले बिरामी परेमा र अत्यावश्यक कामबाहेक गाउँबाट बाहिर ननिस्कने निर्णय गरिएको छ। समितिले गरेको निर्णय गाउँका सबै टोलमा पुर्याउन समूह बनाएर खटाइएको अध्यक्ष गुरुङले बताए।
आफन्त र नातागोता भनेर गाउँ पस्न दिँदा कोरोना सर्ने डर भएकाले यो निर्णय गरिएको उनले सुनाए। घान्दु्रक अहिलेसम्म कोरोना संक्रमणमुक्त छ।
घान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिकाको १० र ११ नम्बर वडामा पर्छ। पदयात्राका लागि प्रख्यात अन्नपूर्ण बेस क्याम्प जाने घान्द्रुक भएरै हो।
पोखरा र मुलुकमा अन्य ठाउँमा कोरोना संक्रमण कम नभएपछि घान्द्रुकमा होटेल र होमस्टेहरु खुलेका छैनन्। पोखरा र अन्य ठाउँमा असोज १ गतेबाट होटेल रेस्टुरेन्ट खुलेका छन्।
घान्द्रुक प्रवेश गर्ने नाका युवाहरु खटिएर आवतजावतको निगरानी गरिरहेको स्थानीयले बताएका छन्।