काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै दसैंपछि कार्यक्रम बनाएरै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।
कांग्रेसले सहमहामन्त्री डा. प्रकाशसरण महतको संयोजकत्वमा गठन गरेको कोभिड–१९ अनुगमन समितिको प्रतिवेदन बुझ्दै देउवाले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा सरकारले पटक्कै वास्ता नगरेको बताए।
‘जनताको जीवन जोगाउनतर्फ ध्यान दिनुस भनेर मैले पनि पटक पटक आग्रह गरेको हो तर, सरकारले मानिसहरु मरे मरुन् भन्ने सोच राखेको छ। 'देउवाले भने, ‘कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणभन्दा पनि सरकार भ्रष्टाचारमा केन्द्रित छ।’
उनले सरकारले स्वास्थ्य पूर्वाधार र उपकरण व्यवस्थापन गर्ने कामै नगरेको भन्दै अवस्था भयावह भइसकेको बताए। उनले भने, ‘जनताको जीवन रक्षाका लागि हामीले सरकारलाई वाध्य बनाउनै पर्छ।’
स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउने विषयमा पनि सबैलाई सचेत गराउनु जरुरी रहेको सभापति देउवाले बताएका थिए।