काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेको अवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन असम्भव भएको बताएका छन्।
शुक्रबार ४० औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रह्मा आएपछि ५ लाख मेट्रिक टन मल ल्याउन नसक्ने बताएका हुन्।
‘कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन ल्याउन दिनदिनै एउटा रेल मलको लागि मात्र नेपालमा ल्याउनुपर्छ’, मन्त्री भुसालले भने।
व्यवस्था सुधारका लागि काम गर्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘यदि दैनिक एउटा रेल कलकत्ताबाट नेपालमा आउने हो भने गएको ४० वर्षदेखि मल अभावको समस्या भोगेका नेपाली जनता सो समस्याबाट मुक्त हुनेछन्।’
‘हामीले जे हो त्यो भन्नुपर्ने हुन्छ, देशभित्र आउने मल करिब आधा जति चुहावट हुने गरेको छ। तर हामीले त्यो बन्द गरेका छौँ।’ उनको दाबी छ।
उनले भने, ‘देशमा आउने मल खल्तीका सहकारीले कति खान्छन्? लोकल नेता, कर्मचारी मिलेर कति खान्छन्? ति सवै विवरणहरु आएको छ, अब कति मेट्रिक टन कहाँ कहाँ गयो भन्ने कुरा रियल टाइममा नै हाम्रो वेबसाइटमा राख्नेछौँ। जसले गर्दा हरेक मलको जानकारी हुनेछ। अब हिजोको जस्तो समस्या हुनेछैन।’
उनले मन्त्रीको जिम्मेवारी लिएर आफूले काम गर्न नसकेको स्वीकार गर्दै व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर ‘इनपुट’ मा आधारित लगानी गर्ने व्यवस्था गरिएको बताए।
उनले किसानलाई बैंकको ब्याजदरमा अनुदानमा पाँच प्रतिशतको थ्रेस होल्ड राखिएको काम धेरै ठूलो भएको बताए।
कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरेका थिए।