आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कर्णाली प्रदेश विवाद : पदाधिकारीसँग अध्यक्षद्वयको छलफल अनिश्चित

नेकपा कर्णाली प्रदेश विवाद : पदाधिकारीसँग अध्यक्षद्वयको छलफल अनिश्चित

गत आइतबार कर्णाली प्रदेशमा नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– गत आइतबार कर्णाली प्रदेशमा नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए।

त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि तरंग ल्याएको छ। शाहीविरुद्ध असन्तुष्ट सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि केन्द्रमा नेताहरु विभाजित बनेका छन्।

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न भन्दै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरे पनि ठोस सहमति हुन सकेन।

दुवै अध्यक्षले कर्णाली प्रदेशका पदाधिकारीहरुसँग छलफल गर्ने भन्दै उनीहरुलाई काठमाडौं बोलाए। २९ असोजमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भन्दै उनीहरुलाई लिखित पत्राचार नै भएको थियो।

दुवै अध्यक्षको निर्देशनपछि कर्णाली प्रदेशका पदाधिकारीहरु काठमाडौं आइसके पनि छलफलको टुंगो भने लागेको छैन। संयुक्त छलफल हुन नसकेपछि त्यहाँबाट आएका नेताहरु नै अन्योलमा परेका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमेत उनी पक्षीय नेताहरु बुधबार नै काठमाडौं आएका थिए भने अविश्वासको प्रस्ताव ल्याउने कार्यमा मुख्य भूमिकामा रहेका नेता यमलाल कँडेल, गुलावजंग शाह भने बिहीबार मात्रै काठमाडौं आइपुगेका थिए।  

‘हामीलाई छलफलका लागि आउन भनियो। हामी निर्धारित समयमै यहाँ आइपुगेका हौं,’ एक नेताले भने, ‘त अहिलेसम्म छलफलका लागि केही जानकारी नै गराइएको छैन।’

काठमाडौं आइपुगेका मुख्यमन्त्री शाहीसहितका नेताहरुसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने बिहीबार नै खुमलटारमा छुट्टै छलफल गरेका थिए। उक्त छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षीय नेताहरुको पनि सहभागिता थियो। दाहालले बोलाएको छलफलमा कर्णाली प्रदेशका ओली पक्षीय सांसदहरुलाई भने खबर नै गरिएको थिएन।  

सांसद चन्द्रबहादुर शाहीले बिहीबार आफूहरुलाई नेताहरुले भेट्न बोलाएपछि खुमलटार गएको बताए। ‘हामीलाई बोलाइयो। त्यहाँ कर्णाली प्रदेशको अवस्थाका बारेमा बिफ्रिङ गरेका हौं,’ उनले भने, ‘संयुक्त छलफलका लागि बोलाउने भनिएको थियो, खबर अहिलेसम्म भएको छैन।’ उनले नेताहरुले छुट्टाछुट्टै भेटघाट गरिरहेको बताए। 

मुख्यमन्त्री शाही, आन्तरिक मामिलामन्त्री प्रकाश ज्वालासहितका नेताहरुले खुमलटारमा छलफल गरिरहँदा कँडेल र शाहसहितका नेताहरु भने पार्टी कार्यालय धुम्बाराही पुगेका थिए। उनीहरु दिनभर जसो पार्टी कार्यालयमै बसे पनि छलफलका विषयमा कुनै जानकारी गराइएको थिएन।

कर्णाली प्रदेशका सांसद एवम् ओली पक्षीय नेता यमलाल कँडेलले अहिलेसम्म छलफलका लागि नबोलाइएको बताए। ‘बिहीबार काठमाडौं पुग्न निर्देशन भयो, हामीहरु आइपुग्यौं,’ उनले भने, ‘अब भेटघाट गराउने मानिसहरुलाई नै तपाईंहरु सोध्नुहोस् कार्यक्रम के छ भनेर।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कर्णाली प्रदेशमा देखिएको विवाद र ओलीले बुधबार एकलौटी ढंगबाट मन्त्रिपरिषद्को पुनर्गठन गरेपछि अध्यक्ष दाहालसहितका नेताहरु असन्तुष्ट छन्। ओली–दाहालबीच छलफलको वातावरण नमिलेकै कारण संयुक्त छलफल पनि अनिश्चित बनेको हो।
 

प्रकाशित: Oct 16, 2020| 06:59 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।