आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता डा. कोइरालाको प्रश्न : मुलुकमा कानुनी राज्य छ कि छैन?  

कांग्रेस नेता डा. कोइरालाको प्रश्न : मुलुकमा कानुनी राज्य छ कि छैन?  

कांग्रेस नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिमाथि प्रहरीले सर्लाहीमा गरेको दुव्र्यवहार आपत्तिजनक भएको बताएका छन्। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिमाथि प्रहरीले सर्लाहीमा गरेको दुर्व्यवहार आपत्तिजनक भएको बताएका छन्। 

शुक्रबार विज्ञप्ति जारी गर्दै डा. कोइरालाले सर्लाहीमा प्रहरीले बुधबार संघीय संसद्का सदस्यद्वय कांग्रेस सर्लाहीका जिल्ला सभापतिसमेत रहेका नगेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह तथा प्रदेशसभा सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहलगायत सयौंलाई गरेको दुर्व्यवहारप्रति आफ्नो  ध्यानाकर्षण भएको जनाएका छन्। 
 
सर्लाहीको रामनगर गाउँपालिका ७ सिसौटका महेन्द्र रामको गत असोज २२ गते भएको हत्याबारे छानबिन र दोषी पत्ता लगाउन माग गर्दै मृतकका परिवारसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाने क्रममा प्रहरीले दमन गरेको थियो। 

कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘पीडितका परिवार, संघीय र प्रदेशका जनप्रतिनिधिसमेत रहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको व्यवहारले प्रदेश २ मा र सिंगो मुलुकमा कानुनी राज्य छ कि छैन ? भन्ने गहन प्रश्न उब्जाएको छ।’

मृतकको शव विना कारण आठ दिनसम्म प्रहरी प्रशासनले नारायणी अस्पतालमा राखेको, परिवारले दिएको जाहेरी दर्ता गर्न नमानेको अवस्थामा पीडित परिवारसहित जनप्रतिनिधिले शान्तिपूर्ण र्याली निकालेको विज्ञप्तिमा उल्लेख छ। 

‘पीडितलाई न्याय दिलाउन कानुनी प्रक्रिया अगाडी बढाउन आग्रह गर्न आयोजना गरिएको शान्तिपूर्ण र्यालीसहित पुगेको संघीय र प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि माथि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्ने प्रहरीले आम नागरिकलाई कसरी न्याय देला?,’ कोइरालाले प्रश्न गरेका छन्। 

नेता कोइरालाले उक्त घटना प्रशासनको निर्देशनमा भएको जिकिर गर्दै घटनाको घोर निन्दा र भर्त्सना समेत गरेका छन्।  

‘पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, घटनाका घाइतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिइ आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु,’ नेता कोइरालाले विज्ञप्तिमा भनेका छन्।  

प्रकाशित: Oct 16, 2020| 05:44 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।