काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले प्रहरीका औंलामा गन्न सकिने कार्यगत त्रुटिलाई प्रचारप्रसार गर्ने र त्यसमा रमाउने प्रवृत्ति बढेको बताएका छन्।
शुक्रबार बिहान ६५ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा उनले प्रहरीको तेजोबध गर्ने भन्दा पनि रचनात्मक सुझाव र पृष्ठपोषण नै अहिलेको आवश्यकता रहेको बताए।
‘प्रहरीका हजारौं कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने कार्यगत त्रुटिलाई प्रचारप्रसार गर्ने र त्यसमा रमाउनेहरुले हेक्का राख्नुपर्छ,’ उनले भने। नराम्रोलाई पटक–पटक नराम्रो भन्न नहिचकिचाउने हाम्रो समाज राम्रोलाई प्रशंसा गर्न शब्द खर्च गर्न कन्जुस्याइँ गर्दै आएको उनको भनाइ छ।
‘कुनै अपराधको घटना घट्दा हल्ला गर्ने समाज किन त्यही घटनाको सफल अनुसन्धानबाट प्रहरीलाई स्याबासी दिन कन्जुस्याइँ गर्छ,’ उनले प्रश्न गर्दै भने, ‘प्रहरी र समाज एक अर्काबाट भिन्न हुन सक्दैन। समाजमा जे छ प्रहरीमा त्यही देखिने हो। त्यसैले प्रहरीमा वा देशको संरचनामा परिवर्तन चाहने समाजले आफूमा, आफ्नो परिवार र सोचमा परिवर्तन ल्याउन जरुरी छ।’
कानुनप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आइपर्ने विविध व्यवधान र सीमित स्रोतसाधनका बावजुद नेपाल प्रहरीका कर्मचारीहरुको कार्य सम्पादन उच्च रहेको उनले बताए।
‘दोष जति अरुलाई थुपार्ने र सधैं नकारात्मक आलोचनात्मक सोचबाट मात्र निर्देशित सामाजिक परिवेशमा नेपाल प्रहरीका सकल दर्जाले जुन निर्भिकता र दृढताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् त्यो प्रशंसनिय र सराहनिय छ,’ उनले भने।
गृहमन्त्री थापाले नेपाल प्रहरीमा पनि विज्ञान र प्रविधिको प्रयोग बढिरहेको भन्दै यसलाई अझ बढाउँदै लगिने बताए।