काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी परियोजनाका विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन्।
शुक्रबार बिहान ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु,’ भट्टराईप्रति लक्षित गर्दै ओलीले भने, ‘निर्णय नभएको, कार्यारम्भ नभएको र हुन्छ–हुँदैन भन्ने निश्चितसमेत नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले अरब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु।’
ओलीले भट्टराईको अभिव्यक्ति निराधार भएको बताए। ‘हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायी हुन सक्दैनौं,’ उनले भने, ‘देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र त्यस्ता हर्कत हामी गर्न सक्दैनौं।’
प्रधानमन्त्री ओलीले नेपाल सरकारले अपराधविरुद्ध र भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएको चर्चा गर्दै अन्य कुरामा भने सहनशिलताका साथ सरकार अघि बढेको बताए।
‘भ्रष्टाचार र अपराधविरुद्धको शून्य सहनशिलतामा प्रहरीको भूमिका मुख्य हुन्छ सफल कार्यान्वयन र परिणाम निकाल्न,’ उनले भने, ‘नेपाल प्रहरीले नीतिको अक्षरशः पालना गर्दै दृढता र सक्रियता हासिल गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु।’
प्रहरीमाथि नागरिकको विश्वास कमजोर भयो भने शान्ति–सुरक्षाको स्थितिमा चुनौती हुन सक्ने भन्दै प्रधानमन्त्रीले सचेत र जिम्मेवार भएर काम गर्न निर्देशन दिए। ‘अहिले हामी महामारीको भयानक घडीमा छौं। संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘लकडाउनदेखि अहिलेको परिस्थितिसम्म सरकारले गरेको निर्णय कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण छ।’
‘विज्ञान र प्रविधिले जीवन आरामदायी बनाएको छ भने त्यसले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा केही असहज पनि भएको छ,’ प्रधानमन्त्रीले भने, ‘संगठित अपराध, विद्युतीय अपराध बढ्दो छ। यस्तो बेलामा नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको छ।’ आगामी दिनहरु चुनौतीपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले पर्याप्त सचेत हुन सकिएन भने कठिनाइ हुन सक्ने बताए।
‘विधिको सीमाभन्दा बाहिर गएर काम गर्न सकिँदैन। अनुचित र अनुपयुक्त कुराहरु समेत सामना गर्नुपर्छ,’ उनले भने, ‘संविधानविरुद्धका कुराहरु, व्यवस्था नै उल्टाउने खालका कुराहरुले देशलाई सही दिशाबाटो तर्फ अघि बढाउन मद्दत गर्दैन।’
नेपाल सरकार जुनसुकै खालका अतिवाद र त्यस्ता गतिविधिविरुद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ। नेपाल प्रहरीले गरेको देशहित र शान्तिका पक्षमा सञ्चालन गरेका निर्भिक र कष्टपूर्ण प्रयासहरु प्रशंसायोग्य नै रहेका उनले बताए।
‘जुनसुकै प्रकारका हिंसा, हत्या र अतिवाद विभिन्न प्रकारका सामाजिक अपराध, बलात्कार जस्ता घटनाहरु मानवोचित छैनन्,’ उनले भने, ‘यी अत्यन्तै निन्दनीय मानवता विरोधी अपराध हुन्। कडा कानुन निकट भविष्यमा ल्याउने सोचिरहेका छौं।’
प्रधानमन्त्रीले बलात्कार लगायतका जघन्य अपराधका विरुद्ध सक्रियता र निर्भिकताका साथ खट्न नेपाल प्रहरीलाई निर्देशन दिए।
‘बलात्कारजस्ता घटनाहरु मिलापत्रका नाममा छोपछाप गर्ने कुराहरु उचित हुन सक्दैनन् र सह्य पनि हुन सक्दैन,’ उनले भने, ‘सामाजिक दवाव आउन सक्छ। भनसुनहरु आउन सक्छन्। विभिन्न खालका प्रभावहरुको प्रयोग हुन सक्छ ती कुराहरुबाट टाढा हुनुपर्छ।’