विराटनगर- विराटनगर महानगरपालिकाले नगरका सडकमा बेसहाराभै कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्दार गरेको छ।
विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो। यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ। यसभन्दा अगाडि विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ।
लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ। लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ। उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर ३ मा रहेको लिवर्टी नेपालमा लगिएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताए।
नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख दिने गरेको जानकारी दिए।