काठमाडौं– पुनर्गठनपछि बिहीबार मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
मुलुक कोरोना महामारीको चपेटामा परेको बेला यस विषयमा मन्त्रिपरिषदमा छलफल समेत भएन। बरु मन्त्रिपरिषदले ९ सचिवको सरुवा ग-यो।
बिहीबारको बैठकले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन्।
प्रधानमन्त्री कार्यालयबाट सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्।
उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री कार्यालयकै अर्का सचिव यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ।
सचिव देवेन्द्र कार्की भौतिक पूर्वाधार मन्त्रालयबाट जल तथा ऊर्जा आयोगका सरुवा भएका छन्।
जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ। यसअघि उनी काठमाडौं महानगरपालिकाका सचिव थिए।
सिचाइँ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा सरुवा गरिएको छ।