जनकपुरधाम- प्रदेश २ को नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश २ मा आतंक मच्चाउन खोजेको आरोप लगाएका छन्।
प्रदेशसभा बैठकमा बोल्दै उनले नेकपा नेतृत्वको सरकारले प्रदेश २ मा अस्थिरता ल्याउन खोजेको आरोप लगाए।
बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक कुशवाहाले बुधबार नेपाली कांग्रेसका कार्यकर्ता, प्रदेशसभा सदस्य तथा संघीय सांसदहरुलाई दुव्र्यवहार गरी लाठी चार्ज गरेको भन्दै आपत्ति जनाए।
सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ७ सिसौटका महेन्द्र रामलाई मरणासन्न हुनेगरी कुटेको र पछि मृत्यु भएको घटनामा एसपी कार्यालयले जाहेरी दर्तासमेत गर्न नचाहेपछि नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दा उल्टै लाठी चार्ज गरेकोमा आक्रोश व्यक्त गरे।
उनले प्रदर्शनमा महिलादेखि प्रदेशसभा सदस्य र संघीय सांसदलाई समेत अवहेलना गरी प्रहरीले लाठी चार्ज गरेको बताए।
उनले भने, ‘केपी ओलीको सरकारले प्रदेश २ मा चरम आतंक सिर्जना गर्न खोजेको छ।’ उनले रामको घटनामा छानबिन समिति गठन गर्न मागसमेत गरेका छन्।
गत असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भएका थिए। पछि उपचारको क्रममा उनको वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा मृत्यु भएको थियो।
मृतक परिवारले रामलाई शहीद घोषणा, क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग गर्दै आएको छ। सोही घटनामा बुधबार नेपाली कांग्रेसले विरोध प्रर्दशन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको थियो।