विराटनगर- प्रदेश १ सरकारले ११ वटा स्थानीय तहलाई प्रहरी भ्यान र वरुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ।
५ करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएका ११ वटा वारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको प्रहरी भ्यान बिहीबार हस्तान्तरण गरेको हो।
प्रदेश सरकारले १४ जिल्लाका एकएक वटा स्थानीय तहमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ। सो केन्द्रका लागि एक थान वारुणयन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण भएको हो। केन्द्रका लागि एम्बुलेन्स पनि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ।
स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई मुख्यमन्त्री शेरधन राईले बिहीबार विराटनगरमा दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गरे।
१४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरिएको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए। मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र एकीकृत शान्ति सुरक्षा, विपद् र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्यका सञ्चालन भएको उनले बताए।
प्रदेश सरकारले सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिकालाई वारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो।
त्यस्तै पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाई पनि हस्तान्तरण गरेको छ।
तीन जिल्लाका तीनवटा पालिकालाई केही समयपछि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ।