धरान- होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका ९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ।
गौतमपथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। अस्पताल पुर्याइएको केही समयमै राति साढे ११ बजे उनको मृत्यु भएको हो।
वडा नं ९ का वडाध्यक्ष रत्न कटवालका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो। उनलाई यहाँस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन।
शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो। राति झन् गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो। उनलाई आठ १० दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो।
यस्तै प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा १ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठले जानकारी दिए।
उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो।
धरानमा होम आइसोलेशनमा बसेकाहरुको मृत्युदर बढ्दै गएको छ। अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभई सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि घरमै मृत्यु भइरहेको छ।
अक्सिजन पट जोडिएको शय्या नौ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ। नयाँ जडान गरिएका ६ भेन्टिलेटर पनि बिग्रिसकेका छन्।