मंगलबार, साउन १९, २०८३

‘साबुनपानी हात, सधैं साथसाथ’

हात धोएको सुनिश्चित गर्ने सजिलो उपाय-  रेशम फिरिरि रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरर दुईपटक गाउनु हो।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

आज अक्टोबर १५ अर्थात ‘विश्व हात धुने दिवस।’  नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ। यस वर्ष  ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ। 

सही तरिकाले साबुनपानीले हात धुनु कोरोना भाइरसविरुद्धको लडाइँमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ।  कोरोना भाइरसका साथै अन्य सरुवा रोगबाट आफु तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो।

कोरोना भाइरस जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटिको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ।   धेरै जसो अवस्थामा यस्तो संक्रमण हाम्रो हातमार्फत हुने गर्छ।  एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो।

विश्वव्यापी महामारीको समयमा भाइरसको संक्रमण फैलिनबाट रोक्न नियमित रुपमा साबुनपानीले हात धुनु सबैभन्दा सस्तो, सजिलो र महत्त्वपूर्ण उपाय हो।

भाइरसका सबै अवशेष नष्ट गर्न सामान्य धोई पखाली पर्याप्त हुँदैन।

हात कसरी धुने?

  • बगिरहेको पानीमा हात भिजाउने,
  • भिजेको हातमा मनग्गे साबुन लगाउने,
  • हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा २० सेकेन्डसम्म राम्रोसँग मिच्ने,
  • बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
  • सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।

कति समयसम्म धुने?

कम्तीमा २० सेकेन्ड लगाएर हात धुनुपर्दछ। 

हात धोएको सुनिश्चित गर्ने सजिलो उपाय-  रेशम फिरिरि रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरर दुईपटक गाउनु हो।

स्यानिटाइजर प्रयोग गरेर हात सफा गर्दा पनि यही तरिका अपनाउन सकिन्छ। कम्तीमा ६० प्रतिशत अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमलाई कतीमा २० सेकेन्ड हातमा लगाएर मिच्नुपर्छ।

कहिले हात धुनुपर्छ?

  • नाक सफा गरेपछि 
  • खोकेपछि वा हाच्छ्युँ गरेपछि
  • सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलजस्ता सार्वजनिक स्थानहरूमा गएर फर्केपछि
  • नगद–पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि
  • अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि
  • खाना खानुअगाडि तथा खाइसकेपछि
  • अन्य सामान्य समयमा पनि निम्न अवस्थामा हात धुनुपर्दछ।
  • शौचालयको प्रयोग गरिसकेपछि
  • खाना खानुभन्दा अगाडी तथा खाइसकेपछि
  • फोहोर मैला छोएपछि
  • घरपालुवा वा अन्य जनावरहरूलाई छोएपछि
  • बालबालिकाको डाइपर फेरेपछि वा उनीहरूलाई शौच कार्य गराइसकेपछि
  • हात फोहोर भएको अवस्थामा

बालबालिकाको हात धुन कसरी सघाउने ?

स्टुल वा केही अग्लो चिज हात धुने धारा र साबुन आफैंले पुग्ने ठाउँमा राखी हात धुन सजिलो व्यवस्था गरेर छोराछोरीका लागि हात धुन सघाउन सकिन्छ। उनीहरूको मनपर्ने गीत गाएर पनि हात धुने प्रक्रियालाई रमाइलो बनाउन सकिन्छ।

हात धुन तातोपानी चाहिन्छ?

चाहिँदैन। हात धुन तातो वा चिसो, जस्तो तापक्रमको पानी पनि प्रयोग गर्न सकिन्छ। जबसम्म तपाईं साबुनको प्रयोग गर्नुहुन्छ, जीवाणु तथा भाइरसलाई प्रभावकारी तवरले मार्नका लागि तातो वा चिसो कुनै पनि तापक्रमको पानी प्रयोग गर्न सकिन्छ।

तौलियाले हात पुछ्नुपर्छ?

जीवाणुहरू सुख्खा छालाभन्दा भिजेको छाला मार्फत सजिलोसँग सर्ने हुनाले हातलाई पूर्ण रूपले सुकाउनु अत्यन्तै जरूरी छ। कागजी रुमाल वा सफा कपडाले पुछ्नु नै जीवाणु एक सतहबाट अन्यमा फैलिनबाट रोक्ने प्रभावकारी उपाय हो।

हात धुनु र स्यानिटाइजर लगाउनुमा कुन बढी प्रभावकारी?

सही तरिका अपनाउने हो भने टाीणु तथा रोगकारक जीवाणु नष्ट गर्न हात धुनु र स्यानिटाइजर लगाउनु दुवै उत्तिकै प्रभावकारी मानिन्छ।

घरबाट बाहिर रहेका बेलामा स्यानिटाइजर एक सजिलो विकल्प हुन सक्छ तर आपतकालीन अवस्थामा यो महँगो हुनुका साथै सजिलै नपाइन पनि सक्छ। अल्कोहलमा आधारित हात स्यानिटाइजरले कोरोना भाइरस नष्ट गर्ने भए तापनि यसले सबै प्रकारका जीवाणु तथा किटाणु भने मार्दैन।

उदाहरणका लागि यसलाई नोरोभाइरस र रोटाभाइरस जस्ता भाइरसविरुद्ध एकदमै निष्प्रभावकारी मानिएको छ।

साबुन नभएको अवस्थामा के गर्ने?

साबुनपानी उपलब्ध छैन भने विकल्पका रुपमा क्लोरिनयुक्त पानी वा कम्तीमा ६० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरले हात सफा गर्नु एक राम्रो विकल्प हो।

यी विकल्प उपलब्ध नभएमा साबुनपानीको झोल वा खरानीको प्रयोगले पनि जीवाणु मार्न सघाउँछ तथापि यो त्यति प्रभावकारी हुँदैन। यी विकल्पको प्रयोग गरिएको भए तापनि  साबुनपानीले राम्ररी हात धुनु नै उत्तम हो। -युनिसेफबाट साभार

प्रकाशित: Oct 15, 2020| 05:15 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्