दार्चुला– दार्चुला व्यास नगरपालिका-१ छाङरुवासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ ।
नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार पालिकालाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारि किनारै–किनार भएर आवत–जावत गर्न सुविधा भएको हो ।
घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अबदेखि देशको एक ठाउँबाट अर्को ठाउँको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।
सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका स्थानीयलाई बाध्यता थियो ।
त्यही बाध्यता अन्त्य गर्न गएको जेठ २६ गते बाटो निर्माण सुरु गरेको सेनाले चार महिनाको प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको हो ।
एक करोड ८ लाख ३६ हजारको लागतमा २ मिटर चौडा र ५५० मिटर लामो बाटो निर्माण गरिएको सेनाले जनाएको छ । त्यस बाटोका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैर सैनिक नागरिक खटिएका थिए ।
हस्तान्तरण कार्यक्रममा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जटिल परिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताए । उनले त्यस क्षेत्रको विकासमा सेनाबाट थप योगदान पुग्ने हुने विश्वास व्यक्त गरे ।
बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुङ्गा लागेर मृत्यु भएको थियो । त्यस अवसरमा बीमा बापतको १० लाख रुपैयाँको चेक र योगदानको उच्च मुल्याङ्कन गर्दै प्रधानसेनापति प्रशंसा निशान उनकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको थियो ।
बाटो सञ्चालनमा आएसँगै त्यस क्षेत्रका १८४ घरधुरीका १ हजार २५० जनालाई हिड्न र पशु चौपाया ल्याउन पुर्याउन सहज भएको जनाइएको छ ।
त्यस मार्गको तम्पाकु खण्डमा सजिलोसग आवत–जावत गर्न केही कठिनाइ रहेकाले त्यसमा पनि सेनाबाट काम होस् भनी स्थानीयले अनुरोध गरेकामा महाकाली करिडोर (दार्चुला–तिङ्कर) निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ ।
अति विकट भौगोलिक अवस्थाका कारण हेलिकोप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटो समयमा निर्माण सम्भव भएको सेनाले जनाएको छ ।