सिराहा- जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।
विद्यार्थीलाई विद्यालयमा उपस्थित नगराएरै वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।
कोरोना सङ्क्रमणको जोखिम कायम रहेका बेला विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम झनै बढ्ने उनले बताए।
यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए। निर्णय अनुसार ती स्थानीय तहका नीजि तथा सामुदायिक विद्यालयले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठन पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको उनले बताए।
बैठकले सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायातका साधनहरु सञ्चालन भए नभएको अनुगमन गर्न र परिपालना नगर्नेलाई कारवाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ।