काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवश्यक नभएको बताएका छन्।
पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा हिजो मात्रै भएको ध्वंसात्मक कृयाकलापले नेपालमा संघीयता आवश्यक नभएको प्रमाणित गरेको उनको दावी छ ।
थापाले प्रदेश ५ सभामा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।
मंगलबार बिहान उनले लेखेका छन्, '५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।
'यो घटनाको कारण मात्र होइन,संघीयताको ५ बर्षे अनुभवले समेत संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ,' उनले लेखेका छन्।