बनेपा- कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्र पारिएको छ। विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ।
विस्तारित सडक र्यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जोडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिने छ। र्याले–कुशादेवी–पनौती–दाहालटार खण्डमा लुम्बीनी-खानी ब्राइट जेभीले ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ।
यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुन भित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ। ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेपलाञ्चोक जिल्लाको चौकीडाँडामा पुगेर बिपी राजमार्गसँग सो सडक जोडिने जनाइएको छ।
बन्दाबन्दीकै बीचमा भइरहेको कामको अवस्थाबारे बुझ्न वाग्मती प्रदेशका नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगका संयुक्त टोलीले अनुगमन समेत गरेको छ।
सो अवसरमा अयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले काठमाडौँबाट बाहिरीने र उपत्यका भित्रिने महत्वपूर्ण मार्गको रुपमा लिएको बताए।
राष्ट्रिय योनजा आयोगका सदस्य डा रामकुमार फुँयालले सो सडक बहुआयमिक र रणनीतिक महत्व भएको रहेको बताए। बन्दाबन्दीकै बीचमा भौतिक कामको प्रगति राम्रो भएको पाइएको उनको भनाइ छ।
पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले सडक विस्तार आयोजना बन्दाबन्दीको समयमा काम भइरहेको बताए। अहिले सो सडक ग्वार्को–लाकुरीभञ्ज्याङ–र्याले र र्याले–कुशादेवी–पनौती–दाहालटार सडक विस्तार गर्ने तथा दाहालटार–चौकीडाँडा ट्रयाक खोल्ने गरी तीन खण्डमा ठेक्का सम्झौता भएको छ।
यसअन्तर्गत र्यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तोरन्नति भइरहेको छ। सो सडक सञ्चालनमा आएपछि पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकाका साथै रोशी गाउँपालिकाकाका १, २, ३, ४, ५ र ७ का बासिन्दा लाभान्वित हुनेछन्।
-रासस