विश्वमा अहिले पुष्टि भएका कोरोना संक्रमित भन्दा २५ गुणा बढी व्यक्ति कोरोनाबाट संक्रमित भएको हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
हाल विश्वभर ३ करोड ५४ लाखभन्दा धेरै ब्यक्ति कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ । तर, डब्लुएचओले विश्वभर करिब ८० करोड ब्यक्ति कोरोनाबाट संक्रमित भएको अनुमान गरेको छ।
डब्लुएचओको विशेष बैठकमा डब्लुएचओका नेताहरुले विश्वको कूल जनसंख्या १० प्रतिशत अर्थात प्रत्येक १० जनामा एक जना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताएका हुन् ।
विश्वमा हाल ७ अर्ब ८० कराेडभन्दा बढी जनसंख्या छ । जसको १० प्रतिशत ७ कराेड ८० लाख हुन आउँछ । डब्लुएचओका उच्च अधिकारीहरुका अनुसार विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेका छन् ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठकमा बसेको हो ।
विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा अधिक रहेको बताउँदै आएका छन् ।
महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन । धेरै देशमा अहिले महामारीको दोस्रो लहर देखिएको छ ।