कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनमै अस्पतालबाट घर फर्किएका छन् ।
कोरोना निको हुनुअघि नै उनी घर फर्किएका हुन् । उनलाई ह्वाइटहाउसमै विशेष निगरानी राखिने बीबीसीले लेखेको छ ।
ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा सिन कोनलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
उनी हिजो अस्पतालमै रहेका बेला आफ्ना समर्थकलाई अभिवादन गर्न गाडीमा सहर घुमेका थिए । उनी अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना निको नभए पनि चुनावी प्रचार सुरु गर्ने संकेत गरेका छन् ।
ट्रम्पले डिस्चार्ज हुनुअघि ट्वीट गर्दै भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’
अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आएका छन् ।