जनकपुर- कोरोना संक्रमण तिब्र गतिमा फैलिए पनि प्रदेश नम्बर २ को राजधानी जनकपुरमा आज (मंगलबार)बाट विद्यालयहरु सञ्चालनमा आउने भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाका कारण चैत देखि बन्द रहेको शैक्षिक संस्थाहरु मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालनमा ल्याएने निर्णय गरेको थियो।
संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन्।
त्यस्तै, शिशु कक्षा र बाल विकासका शिक्षक(शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कूलिङ’ गराउने निर्णय गरिएको छ।
कोरोना संक्रमणका कारण अवरुद्ध रहेको विद्यालयहरुको नियमित पठनपाठन सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तोकेर स्थानीय तहलाई अधिकार दिएको छ ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३३ को उपदफा २ र दफा ११ बमोजिम सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरिएको उनले बताइन्।