काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रदेश ५ मा सोमबार भएको घटनाप्रति पार्टीले आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन्। नेता थापाले ट्विट गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
प्रदेश राजधानी र नामकरणसम्बन्धी प्रस्ताव उपर छलफलका क्रममा कांग्रेस सांसदहरुले विरोध गर्दै सदनको कुर्सी तोडफोड गरेका थिए। प्रतिपक्षीको आवाजलाई बेवास्ता गरिएको भन्दै कांग्रेस सांसदहरु आक्रोशित भएका थिए।
नेता थापाले गल्ती गर्नेमाथि पार्टीले कारबाही गर्नुपर्ने पनि बताएका छन्। थापाले ट्विटरमा लेखेका छन्, 'प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट आज भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठाविपरीत छ। संसद्मा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्।आजको तरिका संसद्भित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नैपर्छ।'
नेता थापाले प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनुपर्छ भन्ने संसदीय अभ्यासको स्मरण गर्दै भनेका छन्, 'आवाज उठाउने तरिका संसदीय अभ्यासभित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।'
थापाले प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनुपरेको बताएका छन्।
उनले भनेका छन्, 'नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौं।'
प्रदेशसभामा प्रतिपक्षीले विरोध जनाइरहँदा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले विरोधीलाई घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई आदेश थिएका थिए।
सांसदहरुको उक्त व्यवहारलाई लिएर सर्वत्र आलोचना भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घटना पार्टीको नीतिविपरीत भएको सार्वजनिक गरेका छन्।
तोडफोडमा संलग्न सांसदहरुले भने सरकारले प्रदेशको राजधानीजस्तो संवेदनशील र महत्त्वपूर्ण विषयलाई गुमराहमा पारेर एकलौटी रुपमा ल्याएपछि आफूहरु आवेगमा आएको दाबी गरेका छन्।