काठमाडौं- कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लगभग बन्द भइसकेको छ। सरकारले चिकित्सकको सिफारिसमा मात्रै निशुल्क परीक्षणको सुविधा दिएको छ भने लक्षण देखिएका व्यक्तिलाई मात्रै चिकित्सकले कोरोना परीक्षणका लागि सिफारिस गर्ने गरेका छन्। यो गोलचक्करका कारण कन्ट्याक्ट ट्रेसिङ हुनै छाडेको छ।
पहुँच नहुने सामान्य बर्गका व्यक्तिलाई सरकारी अस्पतालमा निशुल्क कोरोना परीक्षण गराउन कठिन अवस्था आइसकेको छ। संघीय राजधानी काठमाडौंमा यो अवस्था अझै भयाबह छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने सरकारले कन्ट्याक्ट ट्रेसिङ, निशुल्क उपचार, निशुल्क परीक्षण तथा कोरोना पोजेटिभको व्यवस्थापनमा सरकार लागिरहेको बताउँछन्।
आज (सोमबार) को नियमित प्रेस ब्रिफिङमा डा. गौतमले भने, ‘कतिपयले सरकारले केही गरेन भन्दैछन्, हामीले कन्ट्याक्ट ट्रेसिङ गरेका छौँ, टेस्ट गरिरहेका छौँ, पोजेटिभलाई अवस्था हेरी व्यवस्थापन गरेका छौँ, निशुल्क उपचार गरेका छौँ।’ प्रवक्ता गौतमले सिमित स्रोत साधन भएको देशमा सरकारले यथेस्ट प्रयास गरेको दाबी गरे।
गौतमले दाबी गरेको जस्तो अवस्था पछिल्लो समय छैन। उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ नगरिदिएको गुनासो सर्वत्र छ। लक्षणसहित सरकारी प्रयोगशालामा गएर परीक्षण गराउँदा पोजेटिभ नतिजा आएकाहरुको समेत कन्ट्याक्ट ट्रेसिङ भएको छैन। कन्ट्याक्ट ट्रेसिङ गरिदिनुपर्यो भनेर बारम्बार आग्रह गर्दासमेत हुन नसकेको गुनासोसहित कतिपय पीडितहरु सञ्चारमाध्यमलाई गुहार्नसमेत पुगेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले पनि यस्तै नतिजा पाएको छ। समितिका संयोजक सहमहामन्त्री प्रकाश शरण महतले सरकारले कन्ट्याक्ट ट्रेसिङ नगरेको, पहुँच नभएका व्यक्तिहरुले अस्पतालको आइसोलेसनमा बस्न नपाएको भेटिएको बताएका छन्।
साथै उनले काठमाडौंमा १–२ वटा कोठा भाडा लिएर बस्नेहरुको अवस्था निकै कठिन भएकोसमेत बताएका छन्। भाडामा बस्ने व्यक्तिहरुको परिवारका सदस्यलाई संक्रमण भएमा उनीहरुले निकै कठिन अवस्थाको सामना गर्नुपरेको कांग्रेसले गरेको अध्ययनले देखाएको छ।
घरमा बस्न ठाउँको अभाव, घरधनीबाट पनि अपहेलित हुनुपर्ने, सरकारी अस्पतालमा बस्नलाई आफ्नो पहुँच नहुने र निजी अस्पतालका आइसोलेसनमा बस्न खर्च व्यहोर्न नसकिने अवस्था अधिकांशको देखिएको छ।
महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्न उचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था छैन, उनीहरूको बिचल्ली भएको छ। यी संक्रमितहरूबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ।’
तर गौतमले भने लकडाउनको अवस्थामा स्वास्थ्य क्षेत्रमा सरकारले धेरै सुधारको काम गरेको दाबी गरेका छन्। उनका अनुसार चैतमा आइसालेलेसन बेड १ हजार ३६८ रहेकोमा हाल २० हजार ७६५ रहेको, आइसियु बेड १ हजार ५५१ रहेकोमा हाल २ हजार ६ सय रहेको, भेन्टिलेटरको संख्या ७७० रहेकोमा हाल ९०० पुगेको छ। ११० वटा भेन्टिलेटर आउने क्रममा रहेको प्रवक्ता गौतमले जानकारी दिए।
यी सुधारहरु भए पनि यी सर्वसाधारण व्यक्तिको पहुँचबाट टाढा हुँदै गएका छन्। मुलुकमा सक्रिय संक्रमितको संख्या थपिँदै जाँदा पहुँचवालाहरुले नै यी सरकारी अस्पतलाका बेड र आइसोलेसन ओगट्न थालेका छन्।
गौतमले थपेका छन्, ‘सिमित स्रोत र साधनका बाबजुत सोचेजस्तो रिजल्ट नआएको हुन सक्छ तर सरकारले सक्दो प्रयास गरेको छ।’
उनले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले मात्र नभई आम मानिसले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताएका छन्।
जलुस गर्ने तथा जनस्वास्थ्यका मापदण्डबिना भिडभाड गर्नाले उपत्यकामा संक्रमण बढेको उनको ठहर छ।
साथै नेपाल भारत सीमामा आवतजावत नियन्त्रण हुन नसक्नु र मानिसहरुले यात्रा गरेपछि क्वारेन्टीनमा नबस्नुले कोरोना संक्रमण फैलिएको मन्त्रालयको बुझाइ छ।