बुटवल– प्रदेश ५ को प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बैठक अवरोध गर्ने विपक्षी सांसदलाई घिसारेर बाहिर निकाल्न आदेश दिएका छन्।
प्रदेशको स्थायी राजधानी र नामकरण गरियोस् भन्ने प्रस्तावका छलफलका क्रममा मन्त्री केसीले सोमबारको बैठकमा यस्तो आदेश दिएका हुन्।
विपक्षी कांग्रेस सांसदहरुले प्रदेश राजधानी बुटवल कायम हुनुपर्ने भन्दै सदनमा नाराबाजी भइरहँदा बैठक चलिरहेको थियो।
मन्त्री केसीले सम्बोधन गर्ने क्रममा कांग्रेस सांसदहरुले टेबुल र कुर्सी तोडफोडमा उत्रिएका थिए।
सांसदहरुको चर्को नाराबाजी गरेपछि मन्त्री केसीले मर्यादापालकलाई सम्बोधन गर्दै भने, ‘घिसारेर निकालिहाल्नुस्।’
उनले मर्यादापालकलाई दुई पटक यस्तो आदेश दिएका थिए।
उनले कांग्रेस सांसदलाई लक्षित गर्दै भने, ‘प्रदेश सभामा आज संसद्मा आज जे प्रस्तुत गर्दै हुनुहुन्छ, सम्भवतः नेपाली कांग्रेसको इतिहासमा बीपीले पनि गिज्याउँदै हुनुहुन्छ होला।’
प्रदेशको राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले संसद्को टबुल र कुर्सी तोडफोड गरेका थिए।