काठमाडौं– सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई पाउने भएका छन्।
स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कारका विजेताको घोषणा सोमबार एक कार्यक्रमका बीच गरेको हो।
विजेताले स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर पाउने छन्। नोबेल पुरस्कार पाउनेमध्ये हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् ।
उनीहरुले ‘हेपाटाइटिस सी’ लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौं मानिसहरुको जीवन जोगाएको स्विडिस एकेडेमीले बताएको छ ।
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७, साहित्यतर्फ अक्टोबर ८, शान्तिका लागि अक्टोबर ९ र अर्थशास्त्रका लागि अक्टोबर १२ मा विजेता घोषणा गरिनेछ ।