पोखरा– पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले आइतबार पदभार ग्रहण गरेका छन्।
पदस्थापनपछि विश्वविद्यालयद्वारा आयोजित स्वागत कार्यक्रममा उपकुलपति अर्यालले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य गर्ने प्रतिबद्धता जनाए। कुलपित एवं प्रधानमन्त्रीसँग विश्वविद्यालयको समस्या र अन्यौल समाधानका बारेमा आफूले कुरा राख्दा उनले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाएको समेत उनले बताए।
‘जहाँ चुनौती छ त्यहाँ सम्भावना छ । जहाँ चुनौती छैन, त्यो जागिर खाने हुन्छ, तर म जागिर खान आएको होइन, काम गर्न आएको हो,’ उपकुलपति अर्यालले भने। अब कसरी यो विश्वविद्यालय बनाउने, कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता रहेको उनले जनाए ।
उपकुलपति अर्यालले भने, ‘कुनै पनि पदाधिकारी आएर मेरो हातमा तिलस्मीको छडी छ, सब ठिक पार्छु भन्यो भने त्यो नबुझेको हुन्छ, तर म बुझ्छु मात्र र बुझेको पनि छु ।’ उनले विश्वविद्यालय विद्यार्थीको योग्यता मापन गर्ने थलो भएकोले एक वर्षदेखि ती कार्य बन्द हुनु विद्यार्थीका लागि ज्यादै पीडादायी क्षण रहेको उल्लेख गरे ।
विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन नहुने उल्लेख गर्दै उनले विश्वविद्यालयको हक, हित तथा विद्यार्थीको भविष्य सुनिश्चताका लागि सबै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्नेमा जोड दिए। यसका लागि आफू चौबिसै घन्टा पोखरा विश्वविद्यालयको लािग समर्पित रहने उनले बताए ।
कोभिडले धेरै विश्वविद्यालयहरूलाई समस्यामा पारेको र केही विश्वविद्यालयले सामाजिक दुरी कायम गरी परीक्षा लिएको सन्दर्भमा २१ औं शताब्दीको प्रविधिमैत्री वातावरण सिर्जना गरी हामीले पनि अनलाइन पठनपाठन र परीक्षामा सञ्चालनका लागि ढिलो गर्न नहुनेमा उनको जोड थियो ।
पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको विश्वविद्यालय भएकोले यसको अझ बढी प्रबद्र्धन र उत्थानका लागि केही राहत कार्यक्रम सञ्चालनमा ल्याउनु पर्नेमा समेत उपकुलपतिले जोड दिए ।
यसका लागि मेडिकल कलेजको स्थापना, विद्युत, कानुन र शिक्षामा पठनपाठनदेखि लिएर देशको यस सुन्दर क्षेत्रलाई पर्यटकीय अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने उनको कथन थियो । ‘यसका लागि सबैको सहयोग र योगदान चाहिन्छ, केही समस्या भए सम्वाद, सहमति र सहकार्यमा अगाडि बढ्न सकिन्छ,’ उपकुलपतिले भने ।
स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कुल अफ डेभलेपमेन्ट सोसल इञ्जियिरिङका स्कुल निर्देशक डा. रामप्रसाद अर्यालय, पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डे तथा पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयका समस्याका बारेमा भनाइ राखेको सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।